हिले जात्रा एउटा जात्रा भन्दा पनि बिसौनी हो, रोपाँईले थाकेका हातगोडा अनि हिलोसंग अघाएका मनहरु रोपाँई सकिएको खुशीमा चोक चौराहामा भेला भएर गर्ने जात्रा हो यो जस्लाई हामी हिले जात्रा भन्छौं । हिले जात्रा चाँही काठमाण्डौं भन्दा मोफसलका ठाँउहरुमा बढि प्रचलीत छ, नेवाः समुदायको इतिहास अनि सभ्यतासंग मूलभूत रुपमा जोडिएको यस जात्राको महत्व अनि सन्दर्भ बिशिष्ट छ ।
सामान्यतया हिले जात्राको मिति आआफ्नो ठाँउहरु अनुरुप तय गरिन्छ, काठमाण्डौंमा भएको गाईजात्रापछि उपत्यका बाहिरका ठाँउहरुमा हिले जात्रा मनाउने क्रम शुरु हुन्छ । झाँकि, प्रहसन, रोपाँई अनि नाचको उत्कृष्ट समागम यस हिले जात्राको महत्व अनि तवर ठाँउ अनुसार फरक फरक हुन्छ । यस जात्राको इतिहास गएर मल्लकालिन समयसँग ठोकिन्छ, मल्लकालिन समयबाट उपत्यकामा गाइजात्रा र बाहिर हिले जात्राको क्रम कहिल्यै रोकिएको थिएन, तर यसवर्ष कोभिड महामारीले भने हिले जात्राका लस्करहरु प्रभवित बनेका छन् ।
लाखे नृत्य, अनि मान्छेहरुले जनावरको भेष लिएर नाच्ने, अरुलाई गिज्याउने, तर्साउने यस जात्राको महत्वपूर्ण अनि रमाइलो पाटो हो । मकवानपुर, भोजपुर, धनकुटा, बन्दीपुर लगायतका ठाँउहरुमा आआफ्नै हिले जात्राका मितिहरु रहेका छन्, सामान्यतया गाइजात्राको भोलीपल्ट, पर्सिपल्ट या यति दिनपछि भनी हिलेजात्राको मिति तय गरिएको हुन्छ । श्रावण २८ गतेलाई चाँही औपचारीक रुपमा नै हिले जात्राको सर्वमान्य मिति तोकिएको हो, आजको दिनवाट रोपाँई औपचारीक रुपमा नै सकिएको मानिन्छ, अब खेतमा रोप्न हैन गोडमेल गर्नका लागि मात्र गए पुग्छ ।
हिले जात्राको अनेक अनेक शुभकामना, जात्रा मनाउन भेला हुन नपाएपनि घरमा नै बसेर देवदेवताको अर्चना गर्दै अनि शुभेच्छा साटासाट गरेर यस दिवसलाई संझना गरौं ।