बिर्तामोड । झापाको मेचीनगरपालिकामा आज राति १२ बजेदेखि आगामी भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।
कोरोना भाईरसको संक्रमण समुदायमा फैलिन थालेपछि एकहप्तालाई लकडाउन गर्ने निर्णय भएकोे मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।
बुधबार देखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे सम्ममात्र खोल्न पाउने गरी निर्णय भएको छ । उद्योग, व्यापार, कलकारखाना, होटल, शैक्षिक संस्था, लगायतका पसलहरु पूर्णतया बन्द गर्नुपर्ने निर्णय भएको नगरप्रमुख आचार्यले बताए ।
निजी तथा सार्वजनिक सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । अत्यावश्यक काममा नगरपालिकाले दिएको पास लिएर मात्र सवारी साधान चलाउन पाइनेछ ।सामाजिक दुरी कायम गरेर कृषि कार्य गर्न पाइनेछ भने धार्मिक, सांस्कृतिक तथा मृत्यु संस्कारमा भीडभाड नगर्ने र मलामी २५ जना भन्दाबढी सहभागि हुन नपाइने भएको छ ।
यातायातको हकमा नगरभित्र अत्यावश्यक मालबाहक सवारी साधन बाहेक पासको व्यवस्था गरिएको छ । वित्तिय संघसंस्थाहरु सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न पाइने छ ।