श्रम र श्रमिक भन्ने बित्तिकै हाम्रो नेपाली समाज र अधिकांश व्यक्तिहरुको मथिंगलमा खोलाको बगरमा गिटी कुट्ने, थाप्लोमा नाम्लो लगाएर भारी बोक्ने, चिल्ला कारहरु हुँईकिने सडक बनाउने र ठुलठुला सपिङ्ग मल, कम्प्लेक्स र घरहरुको निर्माण कार्यमा खट्ने ज्यामी मिस्त्रीहरुको तस्बिर आउने गर्छ। तर समग्रमा आफुले काम गरेवापत ज्याला लिने सबै मजदुर हुन्, चाहे त्यो डाक्टर, इन्जिनियर र पाईलट नै किन नहोऊन्। अवश्य पनि योग्यता, क्षमता र सीपको आधारमा तिनीहरू बीच फरक होला, तर आत्म – सम्मानको कोणबाट यिनीहरू सबै समान हुन्।
किनकि आत्म –सम्मानको मुल्य कसैको धेरै कसैको थोरै भन्ने हुँदैन, सबैको बराबर हुन्छ। तर आज हाम्रो नेपाली समाज पनि पुँजीवादी युगको सुरुवाती चरणमा प्रवेश गर्दैछ, जसको कारण आफू भन्दा फरक क्षमता र फरक काम गर्नेलाई कमसल ठान्ने, मौका पाई सम्म आफू भन्दा कमजोरलाई दबाउन खोज्ने र अरुको मुल्यांकन उसको सीप, कला, क्षमता र योग्यताको आधारमा नभई उसको आर्थिक अवस्थाको आधारमा गर्ने चरम पुँजीवादी चरित्र र चिन्तनको विकास भईरहेको छ। जुन चरित्र र चिन्तन विद्यमान हाम्रो समाजको लागि मात्र होइन, भविष्यमा पनि मानव समाजको निम्ति ठुलो समस्या बनेर उभिने निश्चित छ। यस्तो चिन्तन प्रणालीको विकासका कारण आज पैसाको अगाडि एक – अर्का बीचको भाइचारा सम्बन्ध र मानवता नै निरीह बन्दै गइरहेको छ। मानवतालाई भन्दा बढी पैसालाई महत्त्व दिने संस्कारले आज समाजको जुनसुकै तह र तप्काका मानिसहरूलाई नराम्रो संग गिजोलिरहेको छ।
जसको कारण ‘जसरी हुन्छ वैधानिकरअवैधानिक बाटो प्रयोग गरेर भएपनि पैसा जम्मा गर्नुपर्छ। किनकि आफुसंग प्रशस्त पैसा भयो भने मात्र यो समाजमा इज्जत पाइन्छ र पैसा कमाउन नसक्नेहरु यो समाजको सबैभन्दा कमजोर र प्रतिष्ठा विहिन मान्छेहरु हुन’भन्ने मानसिकताले घर गरेको छ। यो दृष्टिकोणबाट परिचालित समाज र व्यक्तिहरु श्रमको अवमूल्यन गर्न पुग्छन् र जो आफ्नो रगत, पसिना बगाएर आफू मात्र होइन, अरुलाई पनि बचाई रहेका श्रमिक वर्गमाथि हेयको दृष्टि राख्छन्। हाम्रो देशमा ठुलठुला राजनीतिक परिवर्तनका बावजुद पनि देश अझै गरिवीको रेखामुनि रहिरहनुको प्रमुख कारण पनि यहीँ सोंच र चिन्तन नै हो।
हाम्रो समाजमा केही यस्ता उदेकलाग्दा दृष्यहरु देखिन्छन्, जो दुईछाक खानपनि अरुमाथि निर्भर रहेर दिनभर चौक – बजारमा घुमेर क्यारेमबोर्ड, लुँडो र तास खेलेर समय बिताउँछ, उसलाई “हुनेखाने“को दर्जा दिएर सम्मानको नजरले हेरिन्छ। तर जसले आफ्नै खेतबारीमा काम गरेपनि उसलाई “बिचरा दुख पाएछ“ भनी दुखीको दर्जा दिएर ती श्रमजीवीलाई दयाको दृष्टिले हेरिन्छ। तर दयाको पात्र त ती हुन्, जो युवा छ, हस्टपुष्ट छ र पनि ऊ दुईछाक टार्न पनि अरुमाथि निर्भर छ। समाजको यही गलत प्रवृत्तिका कारण आज विषेशगरि युवा पंक्तिहरु आफुलाई सिर्जनाको जननी मानिने श्रमिक भनेर परिचय दिनपनि असहज मान्छन्। तर सगौरव ‘जग्गाको कारोबार (दलाली) गर्छु, विदेश मान्छे सप्लाई मेनपावरको एजेन्ट गर्छु’ भन्दा कत्तिपनि असहज मान्दैनन्। बरु त्यसलाई आफ्नो सामाजिक प्रतिष्ठा संग जोडेर हेर्छन्।
अहिलेको सन्दर्भमा जरुर यो कुरा सत्य हो कि, पैसा हाम्रो जीवनको एउटा महत्त्वपूर्ण साधन हो, तर साध्य (सबथोक) होइन । यदि एउटा सार्थक र सच्चा मानवीय जीवनको लागि पैसा नै सबथोक हुँदो हो त, राजदरबारको सुखसयल र युवराजको उपाधी गौतम बुद्धले पनि किञ्चित त्याग्दैनथे होला। केही समय अगाडि मात्रै बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनाले बेलायतको बैभबशाली राजदरबार र राजपरिवारको सदस्य त्यागेर आफू खुशी स्वतन्त्र जीवन जिउने घोषणा गर्दैनथे होला। तर आज हाम्रो नेपाली समाज अर्थ जोडको पछाडि लगाम बिनाको घोडा जस्तै दौडिरहेको छ। जसले कत्तिको न्यायपूर्ण आवाजलाई दबाएको छ भने, कत्तिको विसंगति विरुद्धको ध्वनिलाई कुल्चेको छ, जसको लेखाजोखा गर्ने फुर्सद कसैलाई पनि छैन। र न्यून ज्यालामा श्रम गर्ने श्रमिकहरु एकातिर आर्थिक विपन्नताको मारमा छन् भने, अर्कोतिर श्रम गरेवापत यो समाजबाट ‘निम्न कोटीको मानिसहरु’ को दर्जाबाट विभुषित हुनुपर्ने अवस्था छ। त्यसैले अहिले अधिकांश युवा वर्गहरु आफ्नो घर – खेतबारी बैंकमा धितो राखेर भएपनि विदेश नै जान बढी लालायित हुँदै आएका छन्।
किनकि वर्तमान परिप्रेक्ष्यमा जहाँ गएपनि मजदुरहरूको अवस्था उस्तै दयनीय नै भएपनि विदेशमा श्रम गरेवापत आफ्नो आफन्त र छरछिमेकबाट त प्रताडित हुनुपर्दैन र त्यहाँ जस्तोसुकै काम गरेपनि आफ्नो मान्छेहरूले देख्दैनन् र भोलि फर्केर आउदा गाउँ समाजमा आफ्नो इज्जत र मान – सम्मान नै अरुको भन्दा बेग्लै हुने भन्ने मनोविज्ञानका कारण, आज हाम्रो नेपाली समाजका जुनसुकै वर्ग र उमेर समुहका मानिसहरूलाई विदेश मोहले सताउंन जोडेको छैन। त्यसैले हामीकहाँ वर्ष दिनमा एकचोटि दशै – तिहार र साकेला मनाउने जुन संस्कार छ, त्यसरी नै प्रत्येक घरका नेपाली विदेश श्रम गर्न जाने संस्कार नै स्थापित भइसकेको छ। र वैदेशिक रोजगारले नगण्य मात्रामा केहीले घरखेत पनि जोडे होलान्, तर अधिकांश त्यसले निम्ताएको पारिवारिक विखण्डन र सांस्कृतिक विचलनको यहाँ बयानगरि साध्य छैन। यसको अर्थ प्रविधिको उच्च विकास र तिव्र गतिमा भइरहेको विश्व भुमण्डलीकरणको अवस्थामा देश – विदेश जानै हुँदैन भन्ने संकुचित मानसिकता यहाँ पाल्न खोजिएको होइन । तर अधिकांश नेपालीहरु जुन दर्जाको श्रम गर्न विदेश गइरहेका छन्, त्यो दर्जाको श्रम तत्काल यहाँ आफ्नै देशमा पनि मौजुद छ । तर हाम्रो समाजको श्रमप्रतिको तुच्छ दृष्टिकोण र श्रमिक प्रतिको अपहेलित मानसिकताका कारण आज नेपाली श्रमजीवी वर्गहरु उज्ज्वल भविष्य र आत्मसम्मानको खोजीमा भारतको कन्याकुमारी देखि जम्मु – कश्मिर सम्म र अरबको खाडी देखि युरोपको सडकका गल्ती सम्म भौतारिन विवश छन्।
श्रमिक युवा वर्गहरुमा यो अट्टाहास लाग्दो विवशता सिर्जना गर्ने राज्य सत्ताको रुपमा कायम रहेको दलाल पुँजीवादका कारिन्दाहरु नै हुन्, जो अहिले हाम्रो नेपाली समाजमा पनि यौवनकारी फुल जस्तै फक्रिरहेको छ। तर यसको मुल्य यो संवेदनाहीन समाजले एकदिन अवश्य चुकाउनु पर्नेछ। तर अबको युवा पुस्ताहरुलाई पनि राज्य सत्ताको गलत चरित्र र प्रवृत्तिका कारण उत्पन्न विषम परिस्थितिबाट भाग्ने सुविधा किमार्थ छैन। किनकि विद्यमान समाजमा मौजुद गलत संस्कृति र प्रवृत्तिका कारण उत्पन्न खराब परिस्थितिको विरुद्ध अहिलेका युवा पुस्ताले संम्झौताहिन संघर्ष नगर्ने हो भने, यो गलत प्रवृत्ति र संस्कृतिको शिकार अब आउने पुस्ता पनि हुनेछन्। एकातिर श्रमप्रति हाम्रो संकुचित मानसिकता यथावत छ भने, अर्कोतिर हामीले विकास र समृद्धिको कुरा निकै जोडतोडले गरिरहेका छौं। र विभिन्न विकसित मुलुकहरू जस्तै चीन, जापान, अमेरिका, स्वीजरल्याण्ड र सिंगापुरको उदाहरण दिएर नेपाललाई पनि त्यस्तै बनाउने भनेर विभिन्न कालखण्डका विभिन्न नेताहरूले भन्दै आएका छन्। तर यसरी भाषण गरिरहंदा हामीले के कुरा भुल्नु हुंदैन भने, ती विकसित भनिएका मुलुकका नेताहरूको स्पष्ट भिजन र जनताको प्रत्यक्ष योगदान र समर्पणबाट मात्र ती देशहरूमा पनि भौतिक विकास र समृद्धि सम्भव भएको हो, जो अहिले भर्खर हामी नेपालीहरूको निम्ति साझा सपनाको विषय बन्दैछ। यदि अधिकांश ‘ठुलाबडा’ भनिने नेपाली जनहरुले जस्तै श्रमलाई तुच्छ र श्रमिक वर्गलाई अपहेलित नजरले मात्र हेरिरहेको भए आज ती विकसित भनिएका मुलुकहरूको आर्थिक अवस्था सायद हाम्रो भन्दापनि दयनीय हुन्थ्यो होला ।
यद्यपि विभिन्न कोणबाट समृद्धि र विकासको शिखर चुमिरहेका मुलुकहरूमा मजदुरहरू माथि प्रतक्ष्यरअप्रत्यक्ष रुपमा नांगो लुट र वर्वर दमन छैन भन्न खोजिएको होइन। यो त विद्यमान समाजमा व्यप्त भ्रष्टाचार, लुटपाट, विभिन्न जातपात र धर्मको नाममा हुने भेदभाव र छुवाछूत जस्ता जघन्य अपराधको अन्त्य गरि सबैले आत्म – सम्मानपूर्वक बांच्न पाउँनुपर्ने हकको सुनिश्चित गर्दै, समानतामुलक समाजको निर्माण नगरे सम्म, सम्पूर्ण शोषित, उत्पीडित मजदुर वर्गहरुले विभिन्न काल खण्डका शासकरप्रशासकहरु द्धारा गरिब, किसान र श्रमिक वर्गहरु माथि मच्चाई रहेको नांगो लुटको साम्राज्यको विरुद्ध भिषण आन्दोलन गर्दै आइरहेका छन् र ठोस रुपमा परिणाम प्राप्त नभए सम्म यो आन्दोलन भोलि पनि श्रमिक वर्गहरुले निरन्तर जारी राख्नेछन्। त्यसैले गरिब, किसान र मजदुरहरूको परिचय केवल गरिबी र मजदुरीसंग मात्र जोडिदैंन, अहिले सम्मको इतिहास र भोलिको सुन्दर भविष्य निर्माणसंग पनि जोडिएको हुन्छ। यस अर्थमा श्रमजीवी वर्गहरुको इतिहास आत्मग्लानी र पश्चतापले होइन, संधै गौरवले भरिएको हुन्छ। र यदि हामी कसैले पनि आफ्नो व्यक्तिगत जीवन र समाजमा विकास र समृद्धि हेर्न चाहान्छौं भने, त्यो श्रमको माध्यमबाट मात्र सम्भव छ। त्यसैले श्रमिकमुखी र श्रम मैत्री समाज निर्माण गर्न, राज्य आफ्नो दायित्वबाट पन्छि रहेपनि, नागरिक स्तरबाट बेलैमा यसको पहल वा सुरुवात गरौं।