काठमाडौं । कोरोना संक्रमणका कारण जटिल बिरामी परेकालाई प्रयोग गर्ने रेमडिसिभिरको कालोबजारी मौलाएपछि औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई इन्जेक्सन खरिद गरी ल्याउन स्वीकृति दिएको छ ।
विभागले भारतीय कम्पनी सिप्ला क्लेम, हिटेरो र माइलानलाई इन्जेक्सन ल्याउन शुक्रबार स्वीकृति दिएको जनाएको छ । थप कम्पनीलाई स्वीकृत दिने विषयमा छलफल भइरहेको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए। ‘हामी फाइल अध्ययन गर्दैछौं, त्यसपछि बाँकी कतिलाई स्वीकृति दिने भन्ने विषयमा निर्णय गर्नेछौं’ –उनको भनाइ थियो ।
कालोबजारी बढ्दा समेत अनुगमन गरी कारबाही गर्न नसकेको सरकारले अन्ततः गम्भीर संकट टार्न भन्दै वैधानिक तीन कम्पनीलाई स्वीकृत दिएको हो । परिस्थिति र आवश्यकता अनुसार रेमडिसिभिर ल्याउन अनुमति दिने बताउँदै ढकालले भने– ‘अब केही दिनमै सो इन्जेक्सन नेपालमा प्रयोग हुनेछ ।’ सरकारमाथि चौतर्फी दबाब आएपछि विभागले औषधि ल्याउने स्वीकृति दिएको हो । नेपाल समाचारपत्रबाट