कुनै सवारी साधन लिएर हिड्नुपर्छ, बाटोमा लाइसेन्स वा अन्य सवारी साधन चेक गर्ने पुलिस बसेको छ भने कुटम्ला झैँ गरेर रोक्छ र थर्काउँदै सोध्छ– ‘ओई लाइसन छ ?’ छैन भनियो भने त कारबाहीको भागिदार सिधै भइहालियो । छ, भनियो भने चेकर पुलिस भुइँतिर हेर्दै भन्छ– ‘देखा !’
मानौँ, उसको र मेरो कुनै जमानामा ठुलै दुश्मनी थियो, आज ऊ त्यसको फाइदा उठाउन यहाँ उभिएको छ । अनि लाइसेन्स निकाल्न गोजीतिर हात हाल्दै गर्दा, पुलिसको देब्रे छातीमा झुण्डिएर बसेको एउटा लोगोमा गएर नजर टक्क अडिन्छ । त्यहाँ लेखिएको हुन्छ– “मुस्कानसहितको प्रहरी सेवा ।” त्यसपछि झन् त्यो लोगोले पनि आफैलाई जिस्क्याएजस्तो भान हुन्छ ।
सिलसिला यत्तिमै रोकिन्न । बिरामी लिएर कुनै हस्पिटल गइयो अथवा आफै बिरामी भएर पनि जानुपर्छ । कहिल्यै नगएको हस्पिटल छ भने यताउति आँखा डुलाउँदा “सोधपुछ” लेखिएको ठाउँमा आँखाको रोशनी ठोक्किन्छ।
“सिस्टर र मिस्टर, फलानो रोगको पेसेन्ट हुनुन्छ अथवा आफै छु । डाक्टर कत्ति नम्बर कोठामा भेट्न सकिन्छ होला ?”
सिस्टर र मिस्टरहरू मोबाइल चलाइरहनुभएको छ, तर हत्तपत्ति हामीसँग बोल्न रुचाउनुहुन्न । त्यसपछि फेरि उही प्रश्न दोहो¥याएपछि प्रश्नकर्तातिर हेर्दै नहेरी “फलानो नम्बर कोठामा जानू” रुखो भाषामा भन्दिन्छन् । त्यसपछि भित्र गयो, त्यहाँभित्र पनि कुनै कुनै त डाक्टरको भेषमा “सैतान” बसेका हुन्छन् । सैतान शब्दप्रति माफी चाहान्छु र यहाँ मैले डाक्टरको मानमर्दन गर्न खोजेको पनि होइन र सबै डाक्टर एउटै हुन्छन् भन्ने मेरो आसय पनि होइन । डाक्टरको चेकजाँचपछि हप्कीदप्की खाने पालो नर्सबाट सुरु हुन्छ । अस्ति एक चोटि नर्ससँग झुक्किएर एक्कासी आँखा जुध्यो । खाउँला झैँ गरेर हेरी । म मनमनै डराएँ ।
अब सरकारी कार्यलयमा हामी सर्वसाधारण जनताले पाउने “मुस्कानसहितको सेवा” बारे कुरा गरौँ । यस विषयमा धेरै भूमिका नबाँधी सिधै मेरो एउटा अनुभव सुनाउन चाहान्छु ।
म वैदेशिक रोजगारीमा विदेश जानको लागि पासपोर्ट बनाउन सदरमुकाम गएँ। आवश्यक कागजात र राजश्व बुझाएपछि मलाई पासपोर्ट लिन “एक महिनापछि फोन गरेर लिन आउनू” भन्ने जानकारी गराइयो । त्यसैअनुरूप एक महिनापछि पासपोर्ट आएको कुरा फोन मार्फत् जानकारी लिएर म लिन गएँ । समयमै पुगेँ र पासपोर्ट लिनका लागि लाइनमा लागियो । म अगाडि नै थिएँ र मेरो पछाडि धेरै लामो लाइन लागिसकेको थियो । तर त्यहाँका कर्मचारी भिडको कुनै वास्ता नगरी गफमा मस्त थिए । गफमा मस्त एक कर्मचारीले भिड देखेपछि “तपाईहरू भिड नगर्नुस्, उता उता जानुस्” भन्दै हामीसित नै पो उल्टै कराउन थाल्यो ।
म अगाडि नै उभिएको थिएँ र मैले तुरुन्तै त्यस कर्मचारीको कुराप्रति प्रतिवाद गर्दै “भिड हामीले गरेको होइन, तपाईहरूको कारणले भएको हो” भनेँ । “चलाख” कर्मचारीले कुरा बुझिहाले र थप केही नबोली गफमा उज्यालिई रहेको अनुहार एक्कासी ओइलाउँदै हाम्रो पासपोर्टका लागि बुझाएको रकमको रसिदमा नम्बर हेर्दै, पासपोर्ट वितरण गर्न थाल्यो ।
माथिका केही उदाहरण हाम्रो समाजको वास्तविक चित्र हुन् र मैले उदाहरणको रूपमा पेश गरेका पात्र पूर्ण रूपले यसको दोषी छैनन् । यसको मुख्य दोषी भनेको राज्य नै हो । सरकारी कर्मचारीको पनि अरूको जस्तै आमाबुबा, बालबच्चा र परिवार छन् र तिनीहरूको लालनपालन गर्ने जिम्मा पनि उनीहरूकै काँधमा छ । तर तलब भने अत्यन्तै न्यून छ । हाकिमले भ्रष्टाचार गरेर खान अर्बाैं रुपियाँ छ, तर फिल्डमा खट्ने कर्मचारीको तलबवृद्धि गर्ने पैसा हुँदैन । उल्टै तलब काट्ने कुरा गर्छ । अनि, आफू र आफ्नो परिवारको भविष्यमाथि अन्धकार र अनिश्चयताको कालो बादल मडारिरहेका बेला, कुन मुर्खले “मुस्कान सहित” को सेवा प्रदान गर्न सक्छ ?
प्रहरीले सय रूपैयाँ पनि घुस लिन्छ भन्ने जनगुनासो छ । यसको मुख्य कारण पनि यही नै हो कि ?
रोशन झापा कनकाई नगरपालिका वडा नं.८, खाडीबस्ती निवासी हुन ।