

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा सेल्फ आइसोलेसनमा बसेका छन् ।

एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका हुन् । सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैले सभापति देउवा घरमै सेल्फ आइसोलेसनमा बसेको उनले बताए । एक जना कर्मचारीमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएका अन्य चार जनाको पनि कोरोना परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएको देउवाको सचिवालयले जनाएको छ । सभापति देउवाको पनि कोरोना परीक्षण गरिने भएको छ ।

भोलि स्वाब परीक्षण गर्न लागिएको सचिवालयले जनाएको छ । देउवा सेल्फ आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफलमा पनि नजाने भएका छन् । कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठकमा सहभागी हुने जनाएको छ ।
Views: 350

