अर्जुनधारा। झापाको अर्जुनधारामा १५ शैयाको शनिश्चरे अस्पताल सञ्चालनमा आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी अस्पताल सञ्चालनमा ल्याइएको हो ।
अस्पतालको बुधबार आयोजित समारोहका बीच प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा उद्घाटन गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग शहरी डिभिजन कार्यालय इलामको २ करोड ५० लाख रुपैयाँको लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण भएको थियो ।
अस्पताल सञ्चालन भएसँगै विशेषज्ञ चिकित्सकसहितको सेवा सुरु भएको छ । अस्पतालका डाक्टर रबिन्द्र ओलीले पूर्णरूपमा सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद बिर्ख प्रधान, नगर प्रमुख हरीकुमार राना, जग्गा दाता तथा पूर्व वन राज्यमन्त्री वीरमणि ढकाल लगायतले बोलेका थिए ।
अर्जुनधारा नगरबासीदेखि बाहेक, बिर्तामोड, बुद्धशान्ति र छिमेकी जिल्ला इलामका माई, सूर्योदय र रोङका स्थानीय बासिन्दा पनि सेवा लिन आउने गरेको केन्द्रका मेडिकल अफिसर डा.रविन्द्र ओलीले बताए ।
हाल ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुती सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, ल्याब सेवा, फार्मेसी सेवा, बीमा सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु सञ्चालन भइरहेको बताइएको छ ।
साथै कार्यक्रममा नगरमा कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण गर्न प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने १७ जनालाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देल, उद्योगी नविन गट्टानी, योग प्रशिक्षक रमेश पोखरेल, सामाजिक अभियन्ता कमल पोखरेललगायत रहेका छन् ।
वडाध्यक्ष एवम् केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पुष्पकुमार प्रसाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री गजमेर, प्रदेश सांसद् वृख प्रधान, नगर प्रमुख हरिकुमार राना, जग्गादाताकोतर्फबाट पूर्व वन राज्यमन्त्री वीरमणी ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समितिका उपाध्यक्ष रामप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले गरेका थिए
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 250