रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ । यस वर्ष भाइरसको चर्चा निकै छ, रेबिज त पुरानो भाइरस भयो तर यस वर्ष नयाँ भाइरसका रुपमा रहस्यमयी ढगंले कोरोना भाइरसको पर्दापण भएको छ । यस वर्षको रेबिज विरुद्धको दिवसमा विश्वले रेबिजमात्र नभई अन्य डरलाग्दा भाइरसहरु विरुद्ध लड्न पनि एैक्यवद्धताको पैरवी गर्नेछ ।
यस वर्षको रेबिज दिवसको नारा पनि Vaccinate and collaborate खोप अनि समन्वय रहेको छ, अर्थात विश्वले आफ्ना वासीहरुलाई यस भाइरस विरुद्ध लड्न खोप र समन्वयतात्मक एैक्यवद्धताको आव्हान गरेको छ ।
सेप्टेम्वर २८ विश्वभरि रेबिज विरुद्धको दिवसुको रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो । हामीमध्ये धेरैलाई रेबिजको बारेमा थाहा छ होला र रेविज मानव सभ्यतासंगै धेरै अगाडिदेखि देखिएको रोग हो । उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेको नोटमा पनि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य उल्लेखित छ । रेविज लागेको अर्थात् रेविड जनावरहरुको र्यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्छ ।
कृषी अनि जनावर पालन मानव सभ्यताका नितान्त नियमित क्रमहरू हुन र जनावरसगको संसर्ग अनि जनावरको वाक्लो उपस्थिती भएका वस्ति, समूदाय र संस्कारमा २० सौं शताब्दि अगावै रेविजको संक्रमण एकदमै धेरै देखिएको थियो । २०औँ शताब्दीको शुरुवातसंगै विकसित देशहरु र रेविजले धेरै प्रभावित मध्य यूरोपमा रेविजको संक्रमण नाटकीय रुपमा कम हुँदै गयो । जसको मूल कारण जनचेतना र रेविज विरुद्धको खोप नै हो । अब विकसित देशहरुमा रेविजको संक्रमण नगण्य छ तथापि हाम्रो जस्तो विकासोन्मुख देशमा रेविजको संक्रमण छिटपुट रुपमा भएपनि देखिंदै, सुनिदै आएको छ । नेपालका मुख्य मुख्य शहरहरु लगायत शक्तिकेन्द्र राजधानी मा समेत छाडा कुकुरहरु हरेक चोक र चौराहमा पाइन्छन । यी कुकरहरुको अब्यवस्थित उपस्थितीले मान्छेलाई टोकेर घाइते बनाउने त्रास र त्यो संगै रेविज संक्रमणको संभावना पनि उत्तिकै बढाएको छ ।
सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि इञ्जेक्शनलाई अझै सहज रूपमा उपलब्धताकालागि सम्बन्धित निकाय र सरोकारवालाहरूले ध्यान दिन जरूरी छ ।
सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । यस वर्षको ुरेविज विरुद्धको दिवसुको नारा जनचेतना, खोप र उन्मुलन भन्ने रहेको छ । तपाईं(हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनिहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु आवश्यक देखिन्छ । यसरी संसारभर रेविज रहित समाजको स्थापनार्थ एकताकालागि भेला हुने मान्छेहरु सबैजना तपाई(हामी जस्तै हुन् । यो संक्रमणको जोखिममा हामी जो कोही पर्न सक्छौं, तसर्थ ध्यान पुर्याउन जरुरी छ । आजको दिन रेविजबाट हुनसक्ने सक्रमण संभावना अनि स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधी सम्बन्धमा हामीसबै संगै भएर जागरुक भएमा रेविजलाई संसारबाटै उन्मूलन गर्न सकिन्छ ।
रेविज मात्र नभई कोभिड लगायत अन्य थुप्रै भाइरस र जीवाणु किटाणुसंग लड्न विश्वमा एैक्यवद्धताको खाँचो छ, सर्वे सन्तु निराभया ।