Aamsanchar

बलात्कारीलाई मृत्युदण्ड दिने कानुन ल्याउन झापाका अगुवा महिलाहरुको जोड

Author Image
मङ्गलवार, असोज १३, २०७७

अन्तर पार्टी महिला सञ्जाल झापाकी पूर्वअध्यक्ष सरु न्यौपाने

बिर्तामोड । बलात्कारका घटनामा संलग्न पुरुषलाई कानुन संशोधन गरेर भए पनि मृत्युदण्डको सजाय दिइनुपर्ने कुरामा झापाका महिला अधिकारकर्मीले जोड दिएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबले बिर्तामोडमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागी उनीहरुले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई केही वर्षको सजाय वा आजीवन कारावास सजायले नपुग्ने उनीहरुको धारणा थियो ।

कानुन व्यवसायी कोपिला खड्का बस्नेत

संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्छ भनेर आवाज उठाएरहेका बेला यसलाई कानुन बनाउनुपर्ने उनीहरुको एक आवाज थियो । महिला हिंसा र बलात्कारका घटनामा कमि आउनुको सट्टा बृद्धि हुँदै जानुमा कानुन नै फितलो भएको उनीहरुको निष्कर्ष थियो ।

कार्यक्रममा नेपाल महिला संघ झापाकी अध्यक्ष सुशीला ढकालले बलात्कारी राख्ने जेल पनि अलग्गै हुनुपर्ने बताइन् । पैसा र शक्तिको आडमा अपराधीहरुले सजाय नपाउनु विडम्बना भएको उनको भनाइ थियो ।

मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा सम्योजक शिखा खड्का

त्यस्तै, कानुन व्यवसायी कोपिला खड्का बस्नेतले मृत्युदण्डको व्यवस्था गरिएका देशमा पनि बलात्कारका घटनामा कमि नआएकाले मानिसको आचरण र व्यवहारमै परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले समास्याको जड पहिचान गरेर सजाय उल्लेख गर्नुपर्ने जिकिर गरिन् ।

राप्रपा नेतृ रञ्जु प्याकुरेल

राप्रपा नेतृ रञ्जु प्याकुरेलले बलात्कारका घटना हुनुको कारणको गहिरो अध्ययन आवश्यक रहेको बताइन् । राज्य यस विषयमा सम्वेदनशील हुनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै, अन्तर पार्टी महिला सञ्जाल झापाकी पूर्वअध्यक्ष सरु न्यौपानेले भइरहेको कानुनको प्रभावकारी कार्यान्वयन भए मात्र पनि बलात्कारका घटनामा कमि आउने विचार राखिन् ।

नारी संचारगृह झापाकी अध्यक्ष अम्बिका भण्डारी

कार्यक्रममा बोल्दै नारी संचारगृह झापाकी अध्यक्ष अम्बिका भण्डारीले बलात्कारीलाई मृत्यूदण्डको सजाय उपयुक्त भएको बताउँदै तर कानुन ल्याउनुभन्दा पहिला अन्तर्राष्र्टिय सन्धिमा परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल महिला संघ झापाकी अध्यक्ष सुशीला ढकाल

मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा सम्योजक शिखा खड्काले बलात्कारीलाई फाँसीको सजायको व्यवस्था हुनुपर्ने बताइन् । उनले त्यसका लागि सरकारले विद्यमान कानुन संशोधन गर्न आवश्यक रहेको उल्लेख गरिन् । कार्यक्रमको सहजीकरण क्लबका अध्यक्ष शेखर सेढाईंले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर