Aamsanchar

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरू विरुद्ध उजुरी आह्वान

Author Image
बुधवार, असोज २१, २०७७

काठमाडौँ — संघीय संसदको संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरू युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारद्वारा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको हो ।

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले बिहीबारबाट लागू हुनेगरी अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । संसदीय समितिको कार्यविधि, २०७५ को दफा १२ बमोजिम उजुरी आह्वान गरिएको सभापति कर्णले बताए । खतिवडालाई अमेरिकाका लागि आवासीय र पानामा, कोष्टारिका, मेक्सिको, एलसाल्भाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैरआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गरिएको हो । विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्बिया, जिम्बावे, ज्ञावेन लगायतका देशका लागि गैरआवसीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।

खतिवडा पूर्वअर्थमन्त्री हुन् । उनले अर्थमन्त्रीबाट राजीनामा दिएको केहीदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीसरहको आर्थिक सल्लाहकार बनेका थिए । त्यसको दुई सातामै उनी अमेरिकाका लागि राजदूतमा सिफारिस भएका हुन् । त्यस्तै, बेलायतका लागि राजदूत सिफारिस भएका रेग्मी पूर्वमुख्यसचिव हुन् । उनले मुख्यसचिवबाट राजीनामा दिएकै दिन बेलायतका लागि राजदूतमा सिफारिस गरिएको हो ।

१० दिनपछि संसदीय समितिले उजुरी खोल्नेछ । उजुरीमाथि छलफल गरेर प्रस्तावित राजदूतहरूलाई सुनुवाईका लागि बोलाउने गरिएको छ । संसदीय सुनुवाई समितिबाट प्रस्तावित राजदूतको नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर