

काठमाडौं । अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा प्रदर्शन गरिएको छ ।

केसी अनशन बसेको २५ दिन हुँदा पनि सरकारले माग पूरा नगरेको भन्दै नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेको नेतृत्वमा प्रदर्शन गरिएको थियो ।

प्रदर्शनपछिको कोण सभामा काफ्लेले केसीका माग अबिलम्ब पूरा गरेर उहाँको जीवन रक्षा गर्न माग गर्नुभयो । केसीको मेडिकल शिक्षामा सुधार र नागरिकको सहज र सर्वसुलभ उपचारको माग कम्युनिष्ट सिद्धान्तसँग मिल्ने भए पनि दुई तिहाईको कम्युनिष्ट सरकारले उहाँका माग सुन्न नै नचाहनु आश्चर्यजनक रहेको उहाँले बताउनुभयो । अनशनका क्रममा केसीलाई केही भईहालेमा त्यो नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी उहाँले दिनुभयो ।



विगतमा कांग्रेसको सरकार बनेका बेला भएका सहमतिसमेत ओलीले उल्ट्याएर केसीलाई अनशन बस्न बाध्य पारेको उहाँको आरोप थियो । प्रदर्शनमा नेपाली कांग्रेस र उसका भातृ संगठनका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

