Aamsanchar

बन्दी जीवन बिताइरहेका कोरोना संक्रमित २० वर्षीय पुरुषको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु

Author Image
शुक्रवार, असोज २३, २०७७

विराटनगर – उपचारका लागि कोभिड अस्पतालमा भर्ना हुन नपाउँदै कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक बन्दीको शुक्रबार बिहान विराटनगरमा मृत्यु भएको छ । जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २० वर्षीय पुरुषको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कारागारका जेलर सुवास लामिछानेका अनुसार लागुऔषध मुद्दामा महरा थरका युवालाई अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि २०७६ साल माघ २१ गतेबाट थुनामा रहेका युवाको मुद्दाको फैसला हुन नपाउँदै कोरोनाका कारण ज्यान गएको उनले बताए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि बिहीबार बिहान ७ बजे कोशी अस्पताल लगिएको लामिछानेको भनाइ छ ।

उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गर्दै स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट राति ९ बजे पोजेटिभ आएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पठाउन खोजियो । तर कोभिड अस्पतालले बेड खाली नभएको बताएपछि उनलाई अस्पतालकै आइसोलेसनमा राखेर थप उपचार थालिएको थियो । युवाको मृत्यु शुक्रबार बिहान १०ः१५ बजेतिर भएको अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा। लक्ष्मीनारायण यादवले बताए ।

चिकित्सकका अनुसार श्वासप्रश्वासमा धेरै समस्या रहेको र स्वास्थ्य अवस्था नाजुक बनेर गएका कारण बन्दी युवालाई तत्काल कोभिड अस्पतालमा भर्ना गर्दै अक्सिजन दिएर उपचार गर्नु पर्ने अवस्था थियो । तर कोशीमा बेड खाली नभएको र अन्यत्रका कोभिड अस्पतालमा लैजान नपाउँदै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । कोशी अस्पतालको आइसोलेसनमा भने शंकास्पद बिरामीलाई प्रारम्भिक उपचारका लागि मात्रै राखेर स्वाब संकलन गर्दै पीसीआर परीक्षणका लागि पठाउने गरिएको छ । रिपोर्ट पोजिटिभ आएमा त्यहाँबाट कोभिड अस्पतालमा थप उपचारका लागि रेफर गर्ने गरिएको छ ।

यसअघि असोज १५ गते कारागारमै बन्दी जीवन बिताइरहेका २७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । उनको पनि उपचारकै क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर