काठमाडौं– देशभर लक्षणसहितका कोरोना संक्रमित बढ्न थालेपछि सरकारले गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि ‘कोभिड–१९ बिरामीलाई एयर लिफ्टिङ गर्नेसम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ। गम्भीर बिरामीका लागि सुरक्षित रुपमा छिटो सुविधासम्पन्न ठाउँमा विमानमार्फत एयर लिफ्टिङ गर्नुपर्ने भएकाले निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ। यो मापदण्ड गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि मात्र लागू हुने बताइएको छ।
एयर लिफ्टिङ गर्दा विमान हवाइजहाज, हेलिकोप्टर, एयर एम्बुलेन्सले जनस्वास्थ्यका मापदण्ड अपनाई कोभिड–१९ बिरामीको ओसारपसार गर्नुपर्ने मन्त्रालयले जनाएको छ। मापदण्डअनुसार विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा दुई जना स्वास्थ्यकर्मी अनिवार्य रुपमा हुनुपर्ने छ। सोको व्यवस्था भने विमान कम्पनीले नै गुर्नपर्ने मन्त्रालयको मापदण्ड छ। एयर लिफ्टिङका लागि चार्टड गरेको विमानको भाडा बुकिङ गर्ने व्यक्ति वा संस्थाले भुक्तानी गर्नुपर्ने हुन्छ।
विमान कम्पनीहरुले निश्चित तोकिएको शुल्कभन्दा बढी भाडा लिन नपाइने मापदण्डमा उल्लेख छ। उपचाररत अस्पतालमा उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रुपमा रिफर गरेको हुनुपर्ने छ। रिफर गरिएको अस्पतालमा बिरामीको भर्ना गरी उपचार सम्भव भएको यकिन गरेर मात्र एयर लिफ्टिङ प्रक्रिया गर्नुपर्ने, विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पुर्याउन मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्ने मापदण्डमा उल्लेख छ।