Aamsanchar

वाणिज्य विभागसँग भएको सहमति भन्दै उद्योगीले आफूखुसी बढाए जारको पानीको मूल्य

Author Image
सोमवार, असोज २६, २०७७

काठमाडौं । पिउने पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसनले एकतर्फी ढंगबाट जारमा भरेको पिउने पानीको मूल्य बढाएको छ । वाणिज्य विभागसँग भएको सहमति भन्दै एसोसिएसनले पानी उत्पादक र वितरकहरुलाई प्रतिजार अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ बनाउन पत्राचार गरेको हो ।

२० लिटरको जारमा भरिएको पानीको बजारमा यसअघि ब्रान्ड नै पिच्छे फरक(फरक मूल्य थियो । एसोसिएसनको निर्णयपछि काठमाडौं उपत्यका र बनेपामा रहेका १७५ वटा पानी कम्पनीको जारको पिउने पानीको मूल्य प्रतिजार ५० रुपैयाँ पुगेको छ । जारको पिउने पानीको मूल्य र गुणस्तरमा मनपरी भएपछि यसलाई समायोजन गरिएको नेपाल बोटलर्स बाटर एसोसिएसनको दाबी छ । वाणिज्य विभागकै रोहबरमा गत साउनमा तोकिएको अधिकतम् मूल्यसम्बन्धी सम्झौतालाई आधार मानेर उत्पादक र वितरकको मूल्य तोकिएको संघका महासचिव दुर्गाबहादुर गौतमले बताए । ‘मूल्य बढाएको होइन, समायोजन गरेका हौं, खुद्रा पसलेले बढी मूल्य लिएर उपभोक्तालाई पानी बिक्री गरिरहेको हुन सक्छन्,’ एसोसिएसनका महासचिव गौतम भन्छन, ‘उत्पादकबाट २० रुपैयाँमा किनेको एक जार पनि बिचौलियाले ६० रुपैयाँसम्ममा बिक्री गरेको थाहा पाएका छौ । बिचौलिया हटाउन उपभोक्ता मूल्य तोकिएको हो ।’

एसोसिएसनले तोकेको मूल्यले उपभोक्तालाई बढीमा ४० रुपैयाँमा जारको पानी पाउने वातावरण बन्ने भन्दै उनले ५० रुपैयाँ जारमै लिने काम उत्पादकले नगरेको दाबी गरे । गत साउनमा २१ वटा पानी उद्योगको पानीको उत्पादन, गुणस्तर र लागतको आधारमा वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको अधिकतम् मूल्य निर्धारण गरेको थियो । बजारमा बोटल बन्द एक लिटर पानी २० देखि २५ रुपैयाँ र २० लिटरको जारको पानी २५ देखि ५० रुपैयाँसम्म कारोबार भइरहेको भएपनि दुई वर्षअघिको मूल्य निर्धारण र हालको अवस्थालाई मध्यनजर गरेर भन्दै विभागले नयाँ अधिकतम् मूल्य तोकिदिएको थियो ।

विभागको तत्कालीन निर्णयअनुसार एक लिटर बोटलको पानी १६ रुपैयाँ र जारको पानी अधिकतम् ५० रुपैयाँ तोकिए पनि संसदको उद्योग समितिले विभागको निर्णय तत्काल कार्यन्वयन नर्गन निर्देशन दिएको थियो । पानीको मूल्य निर्धारणबारे आवश्यक अनुसन्धान गरिरहेको समितिले जनाएको छ ।

अनुसन्धान गर्दैछौंः विभाग

पानीको मूल्य निर्धारणबारे विभागले गरेको निर्णय कार्यन्वयनमा नआइसकेको भए पनि बजारमा पानीको मूल्य बढाइएको जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।लिखित रुपमै मूल्य बढाउन तालुकको संघले पत्राचार गरेको सूचना प्राप्त भएको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । ‘मूल्य बढाउन हामीले सहमति दिएका होइनौं र छैनौं पनि तर उपभोक्ताबाटै गुनासो टिपाइएको र आधार प्रमाण भेटिएकाले हामीले एसोसिएसनलाई छलफलमा बोलाएका छौं,’ आचार्यले भने । बजारमा ठूलो खपत रहेको २५ रुपैयाँमा बिक्री भइरहेको बोतल बन्द पानीको मूल्य विभागले १६ रुपैयाँमा झारेको र जारको पानीको अधिकतम् मूल्य ६० रुपैयाँबाट ५० मा झारिएको निर्देशक आचार्यले बताए ।

सरकारी तथ्यांकअनुसार देशभर ६३८ वटा पानी उद्योगहरु सञ्चालनमा छन् । जसमध्ये काठमाडौं उपत्यकार र बनेपामा मात्रै १७५ वटा पानी कम्पनी दर्ता छ । पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसन आवद्ध संस्थाहरुसँग भने ५८५ पानी उद्योग आवद्ध छन् । पूर्ण क्षमतामा पानी उत्पादन भए काठमाडौं उपत्यकामा मात्रै दैनिक १० लाख लिटर पानी जारको पानी उत्पादन हुने व्यवसायीहरु दाबी गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर