Aamsanchar

भारतमा कतै ट्रम्प कतै कमलाको जितका लागि पूजा गरिँदै

Author Image
बुधवार, कार्तिक १९, २०७७

नयाँदिल्ली । अमेरिकी उपराष्ट्रपति उमेदवार कमला ह्यारिसको जितका लागि भारतमा रहेको उनको पुर्ख्यौली गाउँमा ठूलो पूजापाठ आयोजना गरिएको छ । उता दिल्लीमा चाहिँ हिन्दु समर्थकहरुले ट्रम्पको जितका लागि प्रार्थना गरेका हुन् । दक्षिण भारतमा रहेको सो गाउँ ह्यारिसकी हजुरआमाको जन्मघर हो र पारिवारिक सम्बन्धका कारण अहिले त्यहाँ सबै डेमोक्रेटिक पार्टीले चुनाव जितोस् भन्ने आशा गरिरहेका छन् । तर अर्कोतर्फ झन्डै ५० लाखको समूहमा भएको दाबी गर्ने दिल्लीस्थित हिन्दु समूहले चाहिँ आफ्ना दुस्मनहरु चीन र पाकिस्तानलाई नियन्त्रणमा राख्न ट्रम्प पुनः निर्वाचित होस् भन्ने चाहेको बताएका छन् ।

अमेरिकी निर्वाचन सुरु हुनु केही घण्टा अगाडि थुलासेन्द्रापुरम् गाउँका बासिन्दाहरु नजिकैको मन्दिरमा कमलाका लागि विशेष प्रार्थना गर्न भेला भएका हुन् । त्यहीँका एक राजनीतिज्ञले ‘अभिशेकम’ सञ्चालन गरेका थिए जसमा भगवान्‌का मूर्तिमा दूध खन्याइ मन्त्र जपिएको हो । यसमा २० भन्दा धेरै स्थानीय सहभागी भएको मन्दिर नजिकैका पसल सञ्चालक आर मनिकन्दनले सीएनएनसँग बताए । उनका अनुसार सो पूजाबारे रिपोर्ट गर्न १५ भन्दा बढी गाडी र मोटरसाइकलहरुमा अन्तर्राष्ट्रिय एवं स्थानीय सञ्‍चारकर्मीहरु आएका थिए ।

नजिकैको सहरमा बस्ने अर्का एक व्यवसायी तथा क्रिकेट एसोसिएसनका प्रमुख आरआर कालिदास भन्डायरले पनि कमलाका लागि आशीर्वाद प्राप्त गर्न १५० सर्वसाधारणलाई खाना वितरण गर्ने योजना रहेको बताएका हुन् । उनले भनेका छन्, “कमला यहाँकी हुन् र हामीलाई उनीप्रति गर्व छ ।”

उता सयौँ माइल पर, दिल्लीमा भने हिन्दु सेना समूहका दुई दर्जन बढीले ट्रम्पको जितको कामना गर्दै हवन गरेका छन् । उक्त पूजामा ट्रम्प र मोदीको तस्बिर पनि राखिएको थियो । सो समुहका संस्थापक विस्नु गुप्ता भन्छन्, “ट्रम्प रहेसम्म भारतले आतङ्‍कवादसँग राम्ररी लड्न सक्नेछ र उनी राष्ट्रपति हुन्जेल चीन र पाकिस्तान दुवै संयम रहने पनि हाम्रो विश्वास छ । कमला भारतीय मूलकी भएको हुँदा हामी उनको पनि राम्रै होस् भन्ने चाहन्छौँ तर वास्तवमा उपराष्ट्रपति त्यति शक्तिशाली हुँदैनन् ।” सीएनएन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर