Aamsanchar

डीएसपी रिजाल अनुसन्धानको क्षेत्रमा सँधै अगाडि

Author Image
बुधवार, कार्तिक १९, २०७७

झापा। महानगरीय अपराध महाशाखा काठमाडौंबाट दश महिनाअघि इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी नायव उपरीक्षकको दरबन्दी सम्हाल्न आएका मुकुन्द रिजाल अनुसन्धानमा अब्बल रहे ।

महानगरीय अपराध महाशाखामा लामो समय काम गरेका उनी झापा सरुवा भएर आए लगत्तै बिर्तामोड र कनकाई नगरपालिकामा जघन्य अपराधका घटना घटे । गत बर्षको माघ महिनामा झापाको बिर्तामोड नगरपालिका–२ चारपाने नजिकै संवेदनशील अंग (गुप्ताङ्ग) काटेर हत्या गर्दै जलाइएको अबस्थामा भारतीय नागरिक सुवान शेखको शव फेला प¥यो ।

फायल फोटो : शान्ति मिशनमा रिजाल ।

नेपालमा रहेर लामो समयदेखि निर्माण क्षेत्रमा श्रमिकको काम गर्दै आएका उनलाई मादक पदार्थ सेवन गरेका आफ्नै साथीले सामान्य विवादमा हत्या गर्दै परालको कुनिउमा जलाएका थिए । हत्या गरिएका शेखको संवेदनशील अंग (गुप्ताङ्ग) काटेर एकातिर फालिएको थियो भने शव अर्काेतिर जलेर क्षतविच्छ्यत थियो । शवको पहिचान खुल्ने कुनै आधार नै थिए । तर, प्रहरी नायव उपरीक्षक रिजालको कमाण्डमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न सक्षम भयो । शेखको हत्यामा सम्लग्न चारपाने निवासी दुई युवा तत्काल पक्राउ परे ।

पक्राउ पर्नेमा २० वर्षीय करण चौधरी र लक्ष्मण यादव छन् । त्यस्तै गत २८ असोजमा कनकाई नगरपालिका–३ निवासी २२ वर्षीय अभिषेक चौधरीको हत्या भयो । लागू पदार्थ सेवनको विषयमा कनकाई नगरपालिका– ७का नगरपालिका–७का २२ वर्षीय टुल्के भनिने रवीन राजवंशीले बञ्चरो प्रहार गर्दै चौधरीको हत्या गरेर बाँस झ्याङ्मा शव फ्यालेका थिए । तर, घटना घटेको ८ घण्टा पनि बित्न नपाउँदै प्रहरी नायव उपरीक्षक रिजालकै कमाण्डमा खटिएको प्रहरीको टोलीले घटनामा सम्लग्नलाई पक्राउ गर्दै कारवाही अगाडि बढाएको छ ।

फायल फोटो : बरामत गरेको अवैध सामान देखाउदै रिजाल, साथमा सहकर्मीहरु ।

पूर्वको उदाउँदो शहरका रुपमा परिचित बिर्तामोड आफैंमा जनघनत्व बढी भएको शहरका रुपमा हेर्ने गरिन्छ । पूर्वी नाका काँकरभिट्टा हुँदै भारतीय बजार जान सहजता र पूर्वी पहाडी जिल्लाको पनि प्रमुख बजार रहेका कारण यहाँको जनघनत्व आफैंमा बढी छ । अव्यवस्थित बसोबास र जनघनत्व बढी भएकै कारण जिल्लाका अन्य ठाउँमा भन्दा बिर्तामोड र आसपासका क्षेत्रमा आपराधिक गतिविधि समेत अधिक हुने गरेको छ । जसमध्ये माथिका दुई वटा घटना प्रतिनिधि मात्रै हुन् । लागूऔषधको अबैध कारोवार, होटलमा हुने यौनजन्य गतिविधि, अबैध चोरी तस्करी, मानव अपहरण तथा शरीर बन्धक, हत्या र बलात्कार जस्ता जघन्य अपराधकै कारण इलाका प्रहरी कार्यालय अनारमनीमा आउने प्रहरी प्रमुखलाई शान्ति सुरक्षा कायम राख्न हम्मे–हम्मे पर्ने गरेको थियो । तर, प्रहरी उपरीक्षक रिजालले इलाका प्रहरी कार्यालय अनारमनीको जिम्वेवारी सम्हालेपछि त्यस्ता जघन्य अपराधका घटनामा कमी आएका छन् नै घटनामा सम्लग्न समेत तत्काल पक्राउ पर्न थालेका छन् । प्रमाणमुखी अनुसन्धानमा विश्वास राख्ने रिजालले प्रहरी सेवाका दौरानले लिएको तालिम र महानगरीय अपराध महाशाखा काठमाडौ बस्दा आर्जन गरेका ज्ञानका कारण जस्तोसुकै घटनालाई पनि सूक्ष्म अध्ययन गर्दै सही नतिजा निकाल्न निपूर्ण देखिएका छन् ।

फायल फोटो : चारपानेमा घटेको घटनाको परिदृष्य ।

प्रहरी नायव उपरीक्षक रिजाल बिर्तामोड आएसँगै लागूऔषधको अबैध कारोवार, होटलमा हुने यौनजन्य गतिविधि, अबैध चोरी तस्करी, मानव अपहरण तथा शरीर बन्धक, बलात्कार जस्ता जघन्य अपराधका घटनालाई प्रायः शून्यमा झरेका छन् । प्रहरी संगठनभित्र भएको श्रोत परिचालन गर्दै लागूऔषधको अबैध कारोवारमा सम्लग्नलाई धमाधम पक्राउ, होटलमा हुने यौनजन्य गतिविधिलाई निस्तेज, अबैध चोरी तस्करीको बाटो नै बन्द गरेपछि आपराधिक गतिविधिमा समेत कमी आएको हो । २०६२ सालबाट प्रहरी निरीक्षकका रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका रिजालले आफूमा भएको दक्षतालाई प्रस्तुत गर्दै दुई-दुईपटक शान्ति सेनामा गएर ‘एफपीयू’ र ‘युएनपीओएल’ मिसनमा सहभागी हुँदै द्वन्द्वरत् मुलुकमा शान्ति स्थापनाका लागि नेपाल प्रहरीका तर्फबाट सुडान र दक्षिणी सुडानमा काम गरिसकेका छन् ।

प्रहरी निरीक्षक हुँदै चुनौति बोकेर सुडान पुगेका उनी विभिन्न देशका प्रहरीसंग बसेरसँगै काम गर्दा आर्जेको ज्ञानलाई अहिले नेपालमा सदुपयोग गर्दैछन् । सरल स्वभावका उनी बाँकेका स्थायी बासिन्दा हुन् । तर, आफूलाई ‘मिनी रोल्पा’ (बर्दियाको टापु– कर्णाली र भेरीले घेरेको भू–भाग) को बासिन्दा बताउने उनी सानैदेखि जंगी पेशा प्रति रुची राख्दथे । अध्ययनकै सिलसिलामा २०६१ सालमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका रिजालले लिखित्मा नाम निकाल्न सफल भए पनि मौखिकमा असफल भएका थिए । घोडा चढ्ने लड्छ भनेजस्तै एकपटक असफल भए पनि उनले आफूमा भएको इच्छालाई कहिल्यै मर्न दिएनन् । बरु आफूमा भएको कमजोरीलाई सुधार्दै पुनः दोस्रोपटक प्रहरी निरीक्षक पदमा प्रतिस्पर्धा गरे । प्रहरी निरीक्षकमा दोस्रोपटक प्रतिस्पर्धा गर्नै कमैलाई मात्र सौभाग्य मिल्छ । त्यो सौभाग्य रिजाललाई पनि मिल्यो ।

जसका कारण उनी पुनः २०६२ सालमा सोही पदमा प्रतिस्पर्धा गर्दै नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भए । प्रहरी निरीक्षक भएपछि पहिलोपटक बर्दियाको इलाका प्रहरी कार्यालय राजापुरको जिम्मेवारी सम्हालेका उनी अनुसन्धानमा कुनै दिन चुकेनन् । १६ महिनासम्म बर्दिया बसेर काम गरेका उनी त्यसपछि जाजरकोट, बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानमा रहेर काम गर्न भ्याए । २०७४ सालमा प्रहरी नायव उपरीक्षक पदमा वढुवा भएका उनी त्यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा समेत रहेर काम गरे ।

हेटौडासहित महानगरीय अपराध महाशाखा काठमाडौंमा समेत काम गरेका उनी अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत् रहेका छन् । झग्गुप्रसाद रिजाल र शोभा रिजालका कान्छा छोराका माइला दाइ माधवप्रसाद रिजाल समेत नेपाल प्रहरीमा कार्यरत रहेका छन् । उनी अहिले जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रहरी नायव निरीक्षक पदमा कार्यरत् छन् । उनका जेठा दाइ भीमलाल रिजाल भने शिक्षक पेशामा सम्लग्न छन् । उनी प्रधानाध्यापक हुन् ।

आमावुवाले रिजाललाई निजामति सेवातर्फ प्रवेश गराउन चाहे पनि सानै देखिको आफूमा भएको रुचीका कारण उनी प्रहरी सेवामा प्रवेश गरेका हुन् । दाङमा जन्मिएका रिजाल बर्दियालाई कर्म थलो बनाए पनि उनको परिवार भने अहिले बाँकेमा रहेको छ । नेपाल प्रहरीमा समेत अब्बल ठहरिएका डीएसपी रिजाल अनुसन्धानको क्षेत्रमा सँधै अगाडि छन् । जसका कारण नेपाल प्रहरी र समाजमा उनको छवि बेग्लै रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 539

प्रतिक्रिया (०)

सम्बन्धित खबर