Aamsanchar

आईसीयूमा उपचाररत एक बिरामीलाई देवघाट पुर्‍याएर वैतरणी गराएको खुलासा

Author Image
बिहिवार, कार्तिक २०, २०७७

चितवन । चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत एक जना युवकलाई परिवारका सदस्यहरुले देवघाट लगेर दशदान वैतरणी गराएको खुल्न आएको छ । सवारी दुर्घटना परी घाइते भएका मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नं। ८ कमाने निवासी ३४ वर्षीय दिनेश खतिवडालाई परिवारले उपचार गर्दागर्दै अस्पतालबाट निकालेर देवघाट लगेका हुन् । उनलाई देवघाटमा लगेर दशदान वैतरणीसमेत गरिएको खतिवडाको आफन्त ईश्वरी अधिकारीले जानकारी दिइन् ।

गएको कात्तिक १४ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएका खतिवडालाई राति ९ बजेर ५० मिनेटमा चितवन मेडिकल कलेजमा ल्याइएको थियो । प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं। २ चौकीटोलमा ना ६ ख ४४५ नम्बरको ट्याक्टरले, प्रदेश ३–००४ प १५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको टाउकोमा गम्भिर चोट लाग्नुका साथै दायाँ हात भाँचिएको छ । चिकित्सक डा। अजित श्रेष्ठका अनुसारसोही दिन टाउकोको अप्रेसन गरेर आईसीयूमा राखी उपचार भैरहेको थियो ।

अस्पतालले बिरामीको अवस्था गम्भीर रहेको बताउँदाबताउँदै चिकित्सकको अनुमति विपरीत घाइते खतिवडाका दाजु शम्भु खतिवडाले बिरामीको थप उपचार गर्न नसक्ने र परेको आफैंले व्यहोर्ने भन्दै कात्तिक १९ गते बुधवार दिउँसो करिब २ बजे बिरामी निकालेर देवघाट लगेका थिए । ‘बुबाआमा वृद्धवृद्धा हुनुहुन्छ, भाइ अपाङ्ग हुने भो, यसलाई कसले हेर्छ, उपचार गर्न सक्दिनँ, मेरो रिक्समा घर लैजान्छु भनेर दबाब दिएपछि अस्पतालले बिरामी पठाएको हो,’ अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले भने ।

अस्पतालबाट दिउँसो बिरामी देवघाट लगेपछि उनीहरुले बिरामी जिउँदै रहेको भन्दै बुधवार राति ८ः४५ बजे पुनः चितवन मेडिकल कलेजमा ल्याएका थिए । बिरामीको अवस्था अति नै जटिल रहेको र अस्पतालमा भेन्टिलेटर तत्काल उपलब्ध नभएको भन्दै त्यहाँबाट फर्काइएका ती बिरामीको हाल पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

उनको अस्पतालको कोभिड स्क्रिनिङ्ग आइसियूमा राखेर उपचार भैरहेको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए । उनको अवस्था चिन्ताजनक छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)