Aamsanchar

ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका ४३ प्रतिशत नागरिक पिउन पानीको पहुँचबाहिर

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

ओखलढुङ्गा : ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका ४३ प्रतिशत नागरिक सफा पिउने पानीको पहुँचबाहिर रहेका हुन्।  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गाको तथ्यांकअनुसार अनुसार ओखलढुङ्गाका १२ प्रतिशत नागरिक सफा पिउने पानीको पहुँचबाहिर छन्। त्यस्तै, सोलुखुम्बुमा १६.८३ र खोटाङमा १५.०७ प्रतिशत नागरिक पिउने पानीको पहुँचबाहिर रहेका छन्। कुल जनसंख्याको सोलुखुम्बुमा ८३.१७, ओखलढुंगामा ८८ र खोटाङमा ८४.९३ प्रतिशत नागरिक मात्रै खानेपानीको पहुँचमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख विजयकुमार ठाकुरले जानकारी दिए। 

सबै नागरिकलाई पिउने पानीको पहुँचमा पुर्याउन तीनवटै जिल्लामा संघ तथा प्रदेश सरकारको सहयोगमा दर्जनौं योजना सुरु गरिएका छन्। ओखलढुङ्गामा प्रदेश स्तरीय ५४ वटा र संघीय सरकारबाट २४ वटा योजना कार्यान्वयनको चरणमा रहेका छन्। सोलुखुम्बुमा प्रदेश सरकारका ३४ योजना र संघीय सरकारका १० वटा योजना सुरु भएका छन्। खोटाङमा प्रदेशको ४७ र संघका ४५ वटा योजना सञ्चालन भइरहेका छन्।

ओखलढुङ्गामा कुल जनसंख्या १ लाख ४३ हजार ८३२ मध्ये १ लाख २३ हजार १७१ जना मात्रै खानेपानीको पहुँचमा छन् भने २० हजार ६१६ जना पिउने पानीको पहुँचमा नै रहेका छैनन्। २०६८ सालको जनगणनाका अनुसार सोलुखुम्बुको कुल जनसंख्या १ लाख ५ हजार ८८६ मध्ये ८८ हजार ६७ जना मात्रै पिउने पानीको पहुँचमा छन् भने १७ हजार ८१९ जना अर्थात १६.८३ नागरिक पिउने पानीको पहुँचमा छैनन्। त्यस्तै, खोटाङमा कुल जनसंख्या २ लाख ५० हजार २४९ मध्ये २ लाख १४ हजार २५७ जना मात्रै पिउने पानीको पहुँचमा रहेका छन् भने ३५ हजार ९९२ जना अर्थात १५.०७ प्रतिशत नागरिक पिउने पानीको पहुँचमा नरहेको पाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)