Aamsanchar

साढे छ लाख रुपैयाँभन्दा बढी अवैध रकम र दुई सय ९० ग्राम सुनसहित एक भारतीय नागरिक विराटनगरबाट पक्राउ

Author Image
शनिवार, कार्तिक २२, २०७७

विराटनगर- साढे छ लाख रुपैयाँभन्दा बढी अवैध रकम र दुई सय ९० ग्राम सुनसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत विहारको अररीया जिल्ला जोगवनी-१३ का २५ वर्षीय दीपककुमार भगत रहेका छन्। भारत विहार राज्यमा विधानसभा सदस्यको निर्वाचन हुनुभन्दा दुई दिनअघि उनी पक्राउ परेका हुन्। विहारमा विधानसभा सदस्यको तेस्रो चरणको निर्वाचन शनिबार हुँदैछ।

नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका १७ इस्लामपुरबाट बिहीबार साँझ भगतलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए। पटकपटक नेपाल-भारत आवतजावत गरेको देखेपछि शंका लागेर सीमामा खटिएको सशस्त्रको टोलीले चेकजाँच गर्दा उनको साथबाट ठूलो मात्रामा नेपाली रुपैयाँ र सुन फेला परेको पौडेलको भनाइ छ।

उनका अनुसार भगतले दुवै खुट्टामा टेपले बेर्दै लुकाएर ल्याएको अवस्थामा नेपाली छ लाख ६२ हजार छ सय ५० रुपैयाँ बरामद भएको छ।भगतले लगाएको कट्टुभित्र प्लाष्टिकको पोकामा लुकाएर ल्याएको अवस्थामा दुई सय ९० ग्राम सुनका गहना पनि बरामद भएको एसपी पौडेलले बताए। जसमा ३७ पिस लकेट, चार पिस ब्रासलेट, १० पिस झुम्का र दुई पिस चुरा रहेको उनको भनाइ छ। सुन २४ लाख १२ हजार मूल्य बराबरको रहेको एसपी पौडेलको भनाइ छ।

पक्राउ परेका भगतलाई शुक्रबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ। एसपी पौडेलले पक्राउ परेका भगत अवैध हुण्डी कारोबारको रकम र तस्करीको सुनका गहना बोक्ने भरियामात्रै भएको हुनसक्ने बताए। साढे छ लाख बढी अवैध नेपाली रुपैयाँ र सुन फेला परेसँगै सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले सीमा क्षेत्रलाई उच्च निगरानीमा राखेर कडाई गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)