झापा – झापाका एक युवाको ज्यान गएको पाँच महिलापछि अन्त्येष्टि गरिएको छ । झापाको मेचीनगर नगरपालिका १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (यूएई) मा बुधबार अन्त्येष्टि गरिएको हो । यूएईको उत्तरी शहर रसअल खेमामा गएको जेठ १३ गते उहाँको हृदयाघातबाट ज्यान गएको थियो । लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गरेका थिए ।
नेपाली समाज यूएईको पहलमा मृतकको अन्त्येष्टि गरिएको जनाइएको छ । यसका लागि मेचीनगरमा रहेकी उनकी छोरी रीतु र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति पठाएको थियो । वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गएको वर्ष २०१९ को नोभेम्बर महिनातिर यूएई जानुभएको थियो । उहाँको पासपोर्ट लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो ।