Aamsanchar

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, कोरोनाका कारण झापा सहित देशभरका खोलानाला सुनसान

Author Image
शुक्रवार, मंसिर ५, २०७७

झापा- छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व मनाउने तयारी भइरहेको छ । सरकारले पनि घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ ।
छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्नुहुने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ । यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरि छठ पर्व मनाउन आह्वान गरेको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर व्रत विधि पूरा गर्न पनि प्रशासनले सम्झाएको छ । यता झापा जिल्लामा पहिलो पटक धार्मिक एवं लोकआस्थाको पर्व छठ पूजा घर–आँगनमा मनाउने तयारीमा व्रतालु परिवारजन जुटेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी फैलिने क्रममा रहेकोले जिल्ला प्रशासन कार्यालय झापाले यसबर्ष घर–आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन सबैमा अनुरोध गरेको छ् । साथै खोला, ताल पोखरी, नदीमा गई स्ना गर्दा संक्रमण फैलिन सक्ने भएको हुँदा नदी, खोला, पोखरी तालमा गई पण्डाल बनाई पूजाआजा गर्ने कार्य नगर्न भन्दै प्रशासनले सूचना जारी गरिसकेको छ ।

प्रशासनको सोही सूचनाको आधारमा यसबर्ष जिल्लाको मेची, निन्दा, हडिया, बिरीङ, देउनियाँ, कमल, कनकाई, अदुवा, माई र रतुवा लगायतका नदी तथा खोलाहरू सुनसान देखिएको छ । अघिल्ला वर्षहरू यी नदीमा छठ पूजा आउने १५ दिनअघि देखिनै धुमधामका साथ तयारी गरिन्थ्यो । तर, यसबर्ष नदी, खोला तथा पोखरीहरूमा कुनै चहलपहल छैन ।

नदी तथा खोलाको किनारबाटै अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक तथा परम्परागत चलन छ । सङ्क्रमणका कारण व्रतालु परिवारजनले घर आगनमै खाल्डो तथा कुण्ठ बनाएर छठ पूजा मनाउने तयारीमा जुटेको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले जानकारी दिएका छन् । नेपालमै दोस्रो ठुलो छठ पर्व मनाइने भद्रपुरस्थित मेची नदी पनि यसबर्ष सुनसान देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 456

प्रतिक्रिया (०)

सम्बन्धित खबर