कोरोना भाइरसविरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड ‘डोज’ खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ । रसियाको प्रत्यक्ष लगानी कोष (आरडीआइएफ)ले एक विज्ञप्ति प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रतिवर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो ।
खोपको उत्पादन सन् २०२१ को सुरुदेखि नै प्रारम्भ हुनेछ । यसै साताको प्रारम्भमा रसियाले स्पुतनिक खोपको ‘क्लिनिकल’ परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोपहरु ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् ।
रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपहरुको तुलनामा निकै सस्तो रहेको बताइएको छ । रसियाले गत अगस्टमै कोरोनाभाइरसविरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर, ठूलो स्तरको क्लिनिकल परीक्षणबेगर नै रसियाले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो । हाल स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेवीका रुपमा सहभागिता जनाएका छन् ।
तेस्रो चरणको परीक्षण पूर्वसोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएलासमेतका मुलुकमा जारी छ । भारतबाहेक आरडीआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ । आरडीआइएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गर्नुभयो ।