Aamsanchar

शिक्षकको हत्यारा खोज्न मोरङको मिक्लाजुङमा ‘सर्च अपरेसन’

Author Image
बुधवार, मंसिर २४, २०७७

विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले हत्या गरेका छन् । श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खे जंगलमा फेला परेको थियो । हत्याको जिम्मेवारी विप्लव समूहले लिएको छ । सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्दा उनको मृत्यु भएको विप्लव समूहको दाबी छ ।

मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सिमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँ पुग्न मोरङ टाँडीस्थित प्रहरी चौकीबाट चार घण्टा लाग्छ । घटना भएपछि मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन सञ्चालन गर्ने निर्णय गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने,“स्थानीयमा समेत त्रासको अवस्था सिर्जना भएको छ । गोली हानेर हत्या गरेको भनिएकोमा त्यो नभएर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको देखिएको छ । प्रहरी टोली घटनास्थल पुगिसकेकोले सर्च अपरेसन शुरु भईसकेको छ ।”

प्रजिअ निरौलाले घटनास्थल क्षेत्रमा विगतमा पनि प्रहरी कार्यालय स्थापना गर्न स्थानीयले माग गरेकोले त्यस विषयमा पनि प्रशासन सकारात्मक भएको बताए । “हत्या भएको घटनालाई हामीले विभिन्न कोणबाट विश्लेषण गरिरहेका छौं,” प्रजिअ निरौलाले भने,“भौगोलिक हिसाबले पनि ठाउँ विकट रहेकोले अनुसन्धान र खोजीको पाटोलाई सतर्कतासाथ अघि बढाइने छ ।”

हत्या गरिएका शिक्षकलाई सुराकीको आरोप लगाइ बिहानै अपहरण गरिएको भन्ने जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ । शिक्षकको हत्या भएको घटनाबारे प्रहरीलाई आफन्तले जानकारी गराएपछि प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्याल्यको टोली दिउँसो घटानास्थलतर्फ लागेको थियो ।  धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा प्रहरीले श्रेष्ठको शव फेला पारी शवको मुचुल्का उठाएको छ ।

स्थानीयले बिहान जंगलमा गोली चलेको आवाज सुनिएको भन्ने जानकारी प्रहरी समक्ष गराएका थिए । तर, प्रहरीले भने धारिलो हतियारको प्रयोगबाट प्रअ श्रेष्ठको हत्या गरेपछि फायर खोलेको हुनसक्ने अनुमान गरेको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले श्रेष्ठको हात बाँधेको र धारिलो हतियारले घाँटी रेटेको देखिएको जानकारी दिएका छन् । प्रहरीले घटनामा संलग्नको खोजीलाई तीव्रता दिइएको जनाएको छ ।

यो क्षेत्रबाट केहीअघि मोरङ प्रहरीका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विप्लवका दुईजना नेतालाई पक्राउ गरेको थियो । प्रहरीले इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो ।

सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लाबारीमा बन्दोवस्तीका सामान खरिद गर्न आएका बेला केहीअघि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर