

इलाम : चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ। इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो। प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ। सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको अवसमा अनावरण गरियो।

नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार सो प्रतिमा तामा र पित्तलबाट निर्माण गरिएको हो। नगरले चियाको प्रवर्द्धनका लागि चियाको बिरुवा रोपण शुरु गर्ने गजराजसिंह थापाको प्रतिमासमेत निर्माण गर्दैछ। इलामकै सबैभन्दा पुरानो इलामको चियाबारीको बीच लभडाँडामा सो प्रतिमा निर्माण गर्न थालिएको हो।

चिया श्रमिकको सम्मानस्वरूप इलाम चोक बजारमा चिया टिप्दै गरेको श्रमिक महिलाको प्रतिमा पालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको बताइएको छ। नेपालमा तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापाको पहलमा चिया खेती सुरु भएको मान्यता रहिआएको छ।

विसं १९२० मा पहिलो पटक चीनबाट चियाको बिरुवा झिकाएर खेती शुरु गरिएको हो। जिल्लालाई चियाको जिल्ला भनेर चिनाउन योगदान दिएबापत सम्मानस्वरूप थापाको प्रतिमा यसअघि नै निर्माण गरिसकिएको छ। चिया खेतीको विस्तारसँगै श्रमिकसमेत सोही समयदेखि सक्रिय रहेको भन्दै श्रमिकको सम्मानस्वरूप प्रतिमा निर्माण गरिनु आजको आवश्यकता बनेकाले निर्माण गरी चोकमा राखिएको पालिका प्रमुख महेश बस्नेतले बताए।

