Aamsanchar

बलात्कार घटना लुकाउन पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिलापत्र गराएको आरोपमा मोरङबाट ६ जना पक्राउ

Author Image
शुक्रवार, मंसिर २६, २०७७

विराटनगर — बलात्कार घटना लुकाउन मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिएका उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका–८ का ५३ वर्षीय मथालु खवास छन् ।

मोरङ प्रहरीका डीएसपी मानबहादुर राईका अनुसार भदौ २४ गते धनपालथान–५ स्थित आफ्नो खेतमा मल छर्ने क्रममा ३२ वर्षीय सुरेशकुमार खवासले २१ वर्षीया युवतीलाई बलात्कार गरेका थिए । सुरेशकुमार बेलबारी नगरपालिका–८ का बासिन्दा हुन् । उनले आफन्तको घरमा बसेकी ती युवतीलाई मल छर्ने काममा सघाइदिन भन्दै फकाएर लगेको र एक्लै भएको मौकामा नहरछेउमा लगेर बलात्कार गरेको युवतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आफन्तसँगको सल्लाहपछि युवतीले घटनाको एक महिनापछि २५ असोजमा रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । अनुसन्धान चलिरहेकै बेला सुरेशकुमार फरार भएको डीएसपी राईले बताए ।

फरार अवस्थामै खवासलाई रंगेली नगरपालिका–७, बजार क्षेत्रबाट मंसिर १९ गते दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको थियो । हालै मन्त्रिपरिषद्‌बाट पारित नयाँ अध्यादेशमा बलात्कार कसुर मिलापत्र गराउनेमाथि ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर