कास्की । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा १, टुँसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङ र हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४, जोमसोम निवासी उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार पोखराको हेम्जास्थित याम्दी गुम्बामा सामाजिक परम्परा अनुसार विवाह भएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर ४७ र उपाध्यक्ष शर्मिला ४६ वर्षका छन् ।
सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार विवाह कार्यक्रम आयोजना गरिएको थियो । नवविवाहित जोडीलाईं गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, आार्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले बधाई तथा वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष गुरुङले आफूहरुबीच डेढ दशक अघिदेखि चिनजान रहेको र अहिले पारिवारिक सहमतिमा विवाह बन्धनमा बाँधिएको बताए । उनले भने, “हामी दुवै जना सामाजिक तथा राजनीतिक क्षेत्रमा डेढ दशक अघिदेखि सँगसँगै थियौँ, अहिले दुवै जनाको मञ्जुरी र पारिवारिक सहमतिमा विवाह गर्ने निधो ग¥यौँ ।”
दुवै तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका थिए । गाउँपालिकामा निर्वाचित हुनुअघि अध्यक्ष गुरुङ राजनीतिसँगै पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो भने उपाध्यक्ष गुरुङ गैरसरकारी क्षेत्रमा कार्यरत रहेका थिए ।