Aamsanchar

मोरङका शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या भएको एक हप्ता बित्यो, फेला परेनन् हत्यारा

Author Image
बिहिवार, पौष २, २०७७

काठमाडौं । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको एक हप्ता वितिसक्दा पनि आरोपी समातिन सकेका छैनन् । अपराधको प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले जिम्मेवारी लिइसके पनि घटनामा संलग्न व्यक्ति नसमातिएका हुन् ।

हत्यामा संलग्न व्यक्ति पक्राउ नपर्दा मोरङको विकट क्षेत्र मिक्लाजुङ गाउँपालिका–१, बर्खेका बासिन्दा त्रासमा छन् । यो स्थानमा घटना अगाडि सुरक्षा निकायको उपस्थितिसमेत थिएन । हालै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अस्थायी क्याम्प खडा गरेका छन् । स्थानीयले चाहिँ स्थायीरुपमा सुरक्षाकर्मी राख्न पटकपटक माग गर्दै आएका थिए । हालै जिल्ला सुरक्षा समितिको बैठकले पनि नेपाल प्रहरी राख्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

तर, प्रहरी समायोजनको प्रक्रिया सुरु हुन लागेकाले तत्काल स्थायी प्रहरी कार्यालय राख्न नमिल्ने गृहले जवाफ दिएको छ । प्रदेशबाटै नयाँ प्रहरी कार्यालय राख्ने प्रक्रिया थाल्नुपर्ने गृहको राय छ । मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का शिक्षा हत्यामा संलग्नको खोजी जारी रहेको बताउँछन् । ‘गम्भीरताका साथ अनुसन्धान भइरहेको छ, केही व्यक्तिको खोजी भइरहेको छ’, उनले  भने ।

प्रहरी अधिकृतहरुका अनुसार मोरङमा प्रहरीले आक्रामक अपरेशन चलाएका कारण विप्लव समूह कमजोर बनेको थियो । त्यसको प्रतिक्रिया स्वरुप प्रहरीलाई सुराक दिने व्यक्तिमाथि समूहले आक्रमण गरेको पाइएको उनको दाबी छ । ‘जुनसुकै बहानामा पनि व्यक्ति हत्यामा उत्रिनेलाई छाडिन्न, प्रहरीले चाँडै परिणाम देखाउँछ’, उनले भनेका छन्, ‘केही व्यक्तिको पहिचानसमेत भइसकेका छन् ।’ उनको दाबी अनुसार प्रहरीले निगरानी बढाएकै कारण पनि समूहका कार्यकर्ता फरार भएका छन् ।

सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक रहेको श्रेष्ठलाई २३ मंसिरमा बिहानै घरबाट अपरहण गरेर जंगलमा लगेर विप्लव समूहका व्यक्तिले हत्या गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर