काठमाण्डौ – कोरोना भाइरसको ‘नयाँ प्रकार’ देखिएको बेलायतमा फाइजर, बायोटेक र मोडेर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि काम गर्छ कि गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको स्वास्थ्य अधिकारीले बताएका छन् ।
परीक्षणका लागि केही रगत सङ्कलन गरिएको छ । बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्नेबारेमा एक हप्तामा मात्रै यकिन हुने खबरमा उल्लेख छ । तर कोरोना भाइरसविरुद्धको खोप हुनाले काम गर्ने सम्भावना उच्च रहेको मोडेर्नाले दाबी गरेको छ ।
भाइरसमा धेरै परिर्वतन थपिन गयो भने त्यो चिन्ता गर्नुपर्ने विषय हुन सक्ने क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ । बेलायतमा देखिएको कोरोना भाइरसको ‘नयाँ प्रकार’ लाई लिएर अन्तर्राष्ट्रियरूपमै चिन्ता बढ्दो छ । अहिलेसम्म ४० वटाभन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् ।