Aamsanchar

कालोपत्रे सडक अधुरो छाडेको भन्दै झापाको शनिश्चरे–खुदुनावारी जोड्ने सडक खण्डमा स्थानीयको अवरोध

Author Image
बिहिवार, पौष ९, २०७७

झापा: धुलो पीडित स्थानीयले झापाको शनिश्चरे–खुदुनावारी जोड्ने सडक खण्ड अवरोध गरेका छन्। निर्माण कम्पनीले बजेट निकासा नभएको भन्दै सो कालोपत्रे सडक खण्डको काम अधुरो छाडेको आक्रोशमा स्थानीयले सडक अवरोध गरेका हुन्। स्वास्थ्यमा असर परेपछि धुलो पीडित स्थानीयले सडकमै खटिया, बाँस र टायर राखेर ठाउँ-ठाउँमा सडक बन्द गरेका छना्‌।

अर्थ मन्त्रालय अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयले ९ करोड रुपैयाँ लागतमा शनिश्चरेदेखि खुदुनाबारीसम्म साढे ७ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ साल असार २७ गते ठेक्का लगाएको थियो। सो ठेक्का कञ्चनजङ्घा–शेर्पा–कञ्चनजङ्घा जेभीले लिएको छ।

झापा आन्दोलनका योद्धाको शहादत स्थल सुखानी पार्क हुँदै इलाम जोडिने सडक वर्षौंदेखि हिउँदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे हुन्छ। ठेकेदारको लापरबाहीसँगै जनप्रतिनिधिले समेत उक्त सडक निमार्णमा चासो नदेखाएको भन्दै स्थानीयले दुस्खेसो पोखेका छन्।

सङ्घीय सरकारले प्रदेश सरकारको मातहतमा सडक निर्माण गर्ने भए पनि समयमा सडक निर्माण नहुँदा स्थानीय सरकारसँग स्थानीयवासी आक्रोशित भएका छन्। लामो समयदेखि कालोपत्रे सडक नबन्दा स्थानीयले पटक–पटक सडक बन्द गरेपनि सुनुवाइ नभएको स्थानीय नवीन खडकाले बताए।

२०७७ असारमा सडक निर्माण सम्पन्न भइसक्नु पर्ने सम्झौता भएपनि बजेट निकासा नहुँदा निर्माण कार्य अलपत्र परेको निर्माण कम्पनीका सञ्चालक फुर्तेम्बा शेर्पाले बताए। समयमा काम सक्न दबाब आएपछि सडकको सब–बेसको काम सकेर कालोपत्रे गर्न तयारी भइरहेको थियो। तर, कार्यालयले असारमा बुझाएको बिलको हालसम्म भुक्तानी नदिएको निर्माण कम्पनीका सञ्चालक शेर्पाले बताए ।

रकम भुक्तानीका लागि मन्त्रालय धाइरहेको बताउँदै सञ्चालक सेर्पाले भने, ‘लगभग एक करोड रुपैयाँ भुक्तानी लिनुपर्ने देखिन्छ, आफूसँग भएको रकम खर्च गरेर अहिलेसम्म काम गरेको हुँ, अब रकम छैन, त्यसैले काम ठप्प गर्नुपर्‍यो।’ सडक निर्माण सम्झौता सकिएको ६ महिना बितिसक्दा सडकको काम भने ५० प्रतिशतको हाराहारीमा मात्र सकिएको देखिन्छ।

‘सम्झौता अवधि भित्र उक्त सडक निर्माण नहुँदा यात्रु तथा स्थानीयले सास्ती बेहोर्नु परेको छ,’ अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले भने, ‘नगरले प्रतिनिधि सभा सदस्य पवित्रा निरौला (खरेल), प्रदेश सांसद बृख प्रधानसहित पटक–पटक पहल गरे पनि सडक निमार्णमा अर्थ मन्त्रालयबाटै चासो देखाइएको छैन।’

भौतिक पूर्वाधार विकास कार्यालय अन्तर्गतको सो सडक स्तरोन्नति लागि ठेक्का लागेको बताउँदै मेयर राणाले भने, ‘समयमा सडक नबन्दा नगरपालिकाले सडकको धुलो कम गर्न पानी हाल्ने र बर्खाको समयमा हिलो हुँदा बालुवा गिट्टी छाप्‍ने काम गर्दै आइरहेको छ।’

नगरपालिकाले सो सडक खण्डको काम समयमा सम्पन्न गराउनका लागि सङ्घीय तथा प्रदेश सरकारसँग आग्रह गर्दै आए पनि हालसम्म सुनुवाइ नभएको उनको भनाई छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर