Aamsanchar

लोपोन्मुख प्रजातिमा पर्ने ध्वाँसे चितुवा झापामा पहिलो पटक फेला

Author Image
बुधवार, पौष १५, २०७७

झापा- झापामा पहिलो पटक ध्वाँसे चितुवा (क्लाउडेड लियोपार्ड) फेला परेको छ। लोपोन्मुख प्रजातिमा पर्ने ध्वाँसे चितुवा झापा र इलामको चुरे क्षेत्रको जंगलमा भेटिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। बुद्धशान्ति गाउँपालिका–१ देउराली धेक्सेदेखि २५० मिटरमाथि जंगलमा शनिवार बिहान साढे ७ बजे स्थानीयले ध्वाँसे चितुवा भेट्टाएको कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए।

३६ इन्च लम्बाई चितुवालाई स्थानीयले घेरा हालेर समातेको स्थानीय वीरेन्द्र चापागाईँले बताए। बिरालोजस्तो देखिने चितुवा केही दिनदेखि गाउँघर नजिकै जंगलमा देखिन थालेपछि स्थानीयले पासो थापेर समातेको र त्यसपछि वनका कर्मचारी जिम्मा लगाएको उनले बताए।

स्थानीयले समात्दा चितुवाको मुखमा चोट लागेको सहायक वन अधिकृत उप्रेतीले बताए। नियन्त्रणमा लिएको चितुवालाई हाल कनकाई नगरपालिकास्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहभित्र प्रदेश सरकारले बनाएको वन्यजन्तु संरक्षण तथा उद्धार केन्द्रमा राखिएको छ। घाइते चितुवाको उपचार समेत भइरहेको छ।

‘झापामा ध्वाँसे चितुवा पहिलो पटक भेटिएको हो,’ सहायक वन अधिकृत उप्रेतीले भने, ‘घना जंगल तथा चिसो मौसम बस्न रुचाउने ध्वाँसे चितुवा यसअघि झापामा भेटिएको रेकर्ड छैन।’ यो चितुवा अन्य चितुवाको तुलनामा बढी आक्रामकसँगै मांसहारी र ढाड भएको प्रजातिमा पर्छ। ध्वाँसे चितुवा नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, मलेसिया, म्यानमार, थाइल्यान्ड, भियतनाम लगायत मुलुकमा पाइन्छ।

नेपालमा यसको संख्या ३०० देखि ५०० वटा रहेको छ भने विश्वमा यसको संख्या ३२ सयको हाराहारीमा रहेको छ। यस्ता प्रकारका चितुवा इलाम, कास्की र कैलालीमा भेटिने गरेको छ। नेपालको वन्यजन्तु संरक्षण ऐन अनुसार यस्ता प्रजातिका वन्यजन्तुलाई संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ।

समुन्द्र सतहभन्दा तीन हजारदेखि साढे पाँच हजार मिटर उचाइसम्म ध्वाँसे चितुवा पाइन्छ। सन् १९०० मा पहिलो पटक ध्वाँसे चितुवा चीनमा भेटिएको थियो। चीनमा भेटिएको चितुवालाई त्यसपछि लन्डन लगिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर