Aamsanchar

चौध दिनको क्वारेन्टाइनपछि बिग ब्यास लिगमा सन्दीप मेलवर्न स्टार्सविरुद्ध उत्रदै

Author Image
शनिवार, पौष १८, २०७७

काठमाडौ – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन्। चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन्। लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको संक्रमणका कारण यस यामका सुरुवातका ६ खेल गुमाएका थिए।

नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो। अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट बञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए। उनी बुधबार क्वारेन्टाइनमुक्त भएका हुन्। उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ। हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ।

बिगबास खेल्न लामिछाने गत मंसिर ३० गते अष्ट्रेलिया गएका हुन्। क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभ्यासमा जुटेका व्यवस्थापक शिवाकोटीले बताए। लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ। उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन्।

लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए। ती दुई याममा उनले कुल २० खेल खेल्दै २६ विकेट लिएका थिए। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट संक्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उनी अष्ट्रेलिया उडेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर