Aamsanchar

मिक्लाजुङमा टोले दादाहरुको आक्रमणमा कर्मचारी, मजदुर र सवारी

Author Image
शनिवार, माघ ३, २०७७

मोरङ  । नदीजन्य पदार्थमा कमिसन माग्दै स्थानीय युवाहरुले मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लामा रहेको बी एण्ड बी कन्स्ट्रक्सन प्रा.लिका कर्मचारी र मजदुरमाथि आक्रमण गरेका छन् ।

घटना बिहीबाररातिको हो । प्रहरीका अनुसार राति ११ बजेतिर मदिरा सेवन गरेर युवाहरु स्थानीय टीकाराम गिरीको घरमा सञ्चालन गरिएको कन्स्ट्रक्सनको कार्यालयमा पुगेका थिए । त्यसक्रममा कन्सट्रक्सनका मजदुर र कर्मचारीसँग भनाभन हुनसाथ १०÷१२ जनाको संख्यामा रहेका उनीहरुले आक्रमण सुरु गरिहालेको प्रहरीको भनाइ छ ।

खोलानालाको ठेक्का लिएर काम गर्दै आएका व्यवासायी भूपाल श्रेष्ठ कन्सट्रक्सनका सञ्चालक हुन् । मिक्लाजुङ गाउँपालिकामा रहेका नुनसरी र बक्राहासहित छ वटा खोलानालाको चालु आर्थिक वर्षका लागि नौ करोड रुपैयाँमा ठेक्का लिएर श्रेष्ठले कन्स्ट्रक्सनमार्फत ढुुंगा, बालुवा र गिट्टी उत्खनन्को काम गरिरहेका छन् । प्रहरीकाअनुसार श्रेष्ठले ठेक्का लिएको खोला रुँघ्न र रेखदेख गर्न केही व्यक्तिहरु मिक्लाजुङमा परिचालन गरेका थिए ।

उनले तिमध्ये सात जनालाई स्थानीय टीकाराम गिरीको घरमा डेरा खोजेर राखेका थिए । खोलाहरुको निगरानीमा खटाइएका तिनै व्यक्तिहरुको समूहलाई आक्रमण गर्न स्थानीय युवा पुगेपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काकाअनुसार बाहिरबाट आएका युवाले कन्सट्रक्सनको कार्यालय रहेको गिरीको घर तोडफोड पनि गरेका छन् । तोडफोडबाट घरका ढोका, झ्याल, सिसाहरु र विभिन्न सामग्रीमा क्षति पुगेको छ । घर वरपर रहेका केही सामान पनि तोडफोड गरेर ती युवा फरार भएको प्रहरीले जनाएको छ ।

घटनामा कन्सट्रक्सनका कर्मचारी र मजदुरहरु राजकुमार याक्खा, जीवन गुरुङ, सन्दीप रसाइली, सुजन गुरुङलगायत सामान्य घाइते भएको जानकारी प्रहरीले दिएको छ । अर्कोतर्फका युवाहरुसमेत घटना घाइते भएको बताइए पनि उनीहरु फरार रहेको र पक्राउ नपरेका कारण वास्तविकता पत्ता नलागेको एसपी खड्काले बताए ।

घटना थाहा पाएर ठेकेदार पक्षका केही व्यक्तिहरु पनि घटनास्थलमा पुगेका थिए । त्यसक्रममा तत्काल फरार बनेका युवाहरुले प्रदेश १–०२–००२ च ४१९७ नम्बरको स्कोरपिओ गाडीमा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ । ठेकेदार श्रेष्ठका भाइ भोजराज श्रेष्ठले लिएर गएको उक्त गाडी पार्किङ गरेर राखेको अवस्थामा तोडफोड भएको एसपी खड्काले बताए । उनकाअनुसार इँटा, ढुंगा, लाट्ठीले प्रहार गरेर गाडीमा क्षति पु¥याइएको जानकारी ठेकेदार पक्षले दिएको छ ।

घटनापछि फरार भएका युवाहरुले कन्सट्रक्सनको कार्यालयमा जम्मा गरेर राखिएको पाँच लाख दुई हजार ३४ रुपैयाँसमेत लिएर गएको जानकारी ठेकेदार श्रेष्ठले प्रहरीलाई दिएका छन् । प्रहरीकाअनुसार राति कन्सट्रक्सनको कार्यालयमा जबरजस्ती छिरेका युवाहरुले त्यही घरमा बसिरहेकाहरुलाई हातपात, कुटपिट र आक्रमण गर्दै घाइते बनाएर नगदसमेत लिएर गएको जानकारी आएको छ ।

घटनामा संलग्नलाई कारबाही हुनपर्ने र घटनामा भएको क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै ठेकेदार पक्षले शुक्रबारसाँझ इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएको छ । जाहेरीमा मिक्लाजुङ–७ का २८ वर्षीय दिपेश मगर, सविन श्रेष्ठ, शेरबहादुर तामाङ, मिक्लाजुङ–९ का २७ वर्षीय जोसन श्रेष्ठ, २१ वर्षीय विवेक मण्डल, २८ वर्षीय हिमाल मगर, २१ वर्षीय निजन गिरी र मिक्लाजुङ–६ का २३ वर्षीय सन्देश प्रधानलगायतको घटनामा संलग्नता रहेको जनाइएको छ ।

उनीहरुले बिना कारण रातको समयमा कन्सट्रक्सनको कार्यालयमा छिरेर त्यहाँ बसेकाहरुमाथि गुण्डागर्दी शैलीमा आक्रमण गर्दै, घर र गाडी तोडफोड गरेर नगदसमेत लिएर गएको श्रेष्ठले बताए । वातावरण त्रासपूर्ण भएपछि भागदौड मच्चिएको र प्रतिकार गर्न नसकेपछि रातको समयमा कर्मचारीले भागेर ज्यान बचाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनकाअनुसार आक्रमणमा उत्रिएकाले ढुंगा, इँटा, लाट्ठीलगायतले अन्दाधुन्द प्रहार गरेका थिए । श्रेष्ठले खोला ठेक्काको विषयमा स्थानीय युवाहरुले केही समयदेखि अवरोधको प्रयास गरिरहेको पनि बताए ।

घटनाका कारण मधुमल्ला क्षेत्र रातको समयमा दुई घण्टाजति तनावपूर्ण बनेको थियो । श्रेष्ठले खोला ठेक्का लिएपछि केही स्थानीय युवाले आफूहरुले पैसा नतिरिकन नदीजन्य पदार्थ उत्खनन् गर्न र उत्खनन्बाट प्राप्त भएको आम्दानीको केही कमिसन आफूहरुले पनि पाउनुपर्ने माग राखिरहेको स्थानीय बासिन्दाको भनाइ छ । तर खोलामा आफ्नो पैसा परेकोभन्दै ठेकेदार पक्षले स्थानीय युवाहरुको माग अस्वीकार ग¥यो । त्यही विषयमा दुई पक्षबीच केही समयदेखि विवाद चलिरहेको थियो । पछिल्लो समय त्यो विवाद आक्रमणको घटनामा परिणत भएको प्रहरीको भनाइ छ ।

घटनाका बारेमा अनुसन्धान थालिएको बताउँदै एसपी खड्काले आक्रमण गरेर फरार रहेकाहरुको खोजी तीव्र पारिएको बताए । उनीहरुलाई पक्राउ गरेपछि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी प्रहरीको छ । एसपी खड्काले नदीजन्य पदार्थ उत्खनन् गर्दै आएका ठेकेदारसँग कमिसन मागेको र नदिँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । घटनामा संलग्नहरु पक्राउ परेपछि थप कुरा खुल्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर