विराटनगर । विराटनगरमा मिटरब्याज सञ्चालन गर्दै आएको गिरोहका नाइके एजाज अहमदलाई जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ । संगठित रुपमा मिटरब्याजको कारोबार गर्दै आएको आरोपमा पक्राउ परेका अहमदलाई जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो । विराटनगर महानगरपालिका–९ घर भएका एजाज मिटरब्याजमा लगानी गर्ने र जबरजस्ती रकम असुल गर्ने गिरोहका नाइके हुन् ।
एक वर्षअघि विराटनगरकै एक ३२ वर्षीय पुरुषलाई १५ लाख रुपैयाँ ऋण लगानी गरेका एजाजको समूहले अपहरण शैलीमा लगेर एक करोड १० लाखको छुट्टाछुट्टै चेक बनाएर छाडेको थियो । १५ लाख रुपैयाँको सावाँ–ब्याज गरी १७ लाख रुपैयाँ बुझाएका ती पुरुषबाट जबरजस्ती ५० लाख र ६० लाखको चेकमा हस्ताक्षर गर्न लगाई चेक लिएर गएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी परेको थियो ।
६ पुसमा एजाजलाई घरबाटै पक्राउ गरेको प्रहरीले उनीसहित चार जनाविरुद्ध सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत मोरङमा ‘आपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता गरेको थियो । अनुसन्धानका क्रममा एजाजले गिरोह नै सञ्चालन गरेको खुलेपछि विराटनगर–९ का ३२ वर्षीय एजाज अहमद, ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खानलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । एजाज बाहेक अन्य फरार छन् ।
शुक्रबार मुद्दा दर्ता भएपछि आइतबार अदालतमा थुनछेक बहस भएको थियो । बहसपछि जिल्ला न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो । आदेशलगतै पाँच लाख रुपैयाँ धरौटी बुझाएर आरोपी छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार एजाजको गिरोहले सुरुमा थोरै लगानी गर्ने र विभिन्न परिबन्धमा पारेर यातना दिँदै, धम्क्याउँदै र अपहरण गर्दै सर्वसाधारणसँग धेरै रकम असुल्ने गर्दै आएको थियो । छोटो समयमा उल्लेख्य आर्थिक प्रगती गरेका एजाजको समूहले १५ लाख रुपैयाँ ऋण लिएका पुरुषलाई ऋण चुक्ता भएपछि पुनः ४५ लाख ऋण लिएको तमसुक गराएको थियो । तमसुक देखाएर ६० लाख माग्दै बारम्बार धम्की दिएका थिए ।
तर ती पुरुषले रकम दिन इन्कार गर्दै आएका थिए । त्यसपछि गफ गर्न भन्दै बोलाएर मंसिर २५ गते उनलाई सो समूहले अपहरण शैलीमा बा १८ च ८९९५ नम्बरको कारमा लिएर गएको थियो । सोही क्रममा पुस ८ गते ५० लाख र माघ १० गते ६० लाखको चेक बनाएर हस्ताक्षर गर्न लगाएको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।