वासिङ्टन — दोस्रो कार्यकालका लागि निर्वाचित भएको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत: ह्वाइटहाउस छाडेका छन् । ट्रम्पले नोभेम्बरमा भएको चुनावमा धाँधली गरेर आफूलाई हराइएको दाबीसहित चुनावी परिणाम अस्वीकार गर्दै आएका थिए । तर राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पदभार ग्रहण गर्ने दिन बिहान ट्रम्पले राष्ट्रपति कार्यालय छाडेका हुन् ।
ट्रम्प आफ्ना उत्तराधिकारी बाइडेनलाई ह्वाइटहाउसमा स्वागत नगरी फ्लोरिडा उडेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । ट्रम्पले ऐतिहासिक संस्कार विधि समेत लत्याएका छन् । राष्ट्रपति पद छोड्ने अन्तिम समयमा उनले ७३ जनालाई क्षमादान दिएका हुन् ।
कार्यकालको अन्तिम दिन बिदाइ सम्बोधन गर्दै ट्रम्पले तुलनामक रुपमा केहि सकारात्मक अभिव्यक्ति दिएका छन् । छोटो भिडियो सम्बोधनमा उनले आफ्नो प्रशासनको बचाउ गरेका थिए । ‘अमेरिका कातर आत्माहरूको देश होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उनले भने, ‘हामी सधै संसारका लगि आशा, प्रकाश तथा गौरवको भूमि हौं र भविष्यमा पनि रहिरहनुपर्छ ।’
आगामी प्रशासनबारे समेत उनले केहि सुझाव दिएका छन् । ‘नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्न सफल होस् भन्ने हाम्रो कामना छ,’ उनले भने । आफू निर्वाचित हुनुको उद्देश्य पूर्णरुपमा प्राप्त भएको ट्रम्पको दाबी छ । उनले भने, ‘हामी जे गर्न आएका थियौं त्यो भयो । सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता पुनःस्थापित गर्न सफल भयौं ।’
ट्रम्पले आफ्ना एजेन्डा दक्षिणपन्थी वा वामपन्थी नभएको दाबी गरे । ‘ती रिपब्लिकन वा डेमोक्र्याट पनि थिएनन् । बरु देशका लागि जे सही हुन्छ त्यही थिए,’ उनले भने । आफ्नो कार्यकालमा अमेरिकाका सहयोगी गठबन्धन देशहरूलाई अभूतपूर्व रुपमा चीनको सामना गर्न सहयोग पुर्याएको दाबी ट्रम्पको छ । ‘हाम्रो बलियो कूटनीति तथा सिद्धान्तनिष्ठ यथार्थवादका कारण हामीले मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौताहरू गर्न सफल भयौं । खासगरि कुनै नयाँ युद्ध सुरु नगरेको पहिलो राष्ट्रपतिका रुपमा आफू उभिन पाएकोमा म एकदमै गर्व गर्छु,’ ट्रम्पले भने ।
सम्बोधनको अन्त्यमा ट्रम्पले आफ्नो आन्दोलन सुरु भएको बताए । ‘जब म बुधबार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पदैंछु, म चाहन्छु तपाईंहरूले बुझ्नुहोस की हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ ।’