Aamsanchar

‘द्विपक्षीय सम्बन्धमा नयाँ आयाम’ पाँच सय युवालाई इजरायल जान बाटो फुकुवा

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाडौँ । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेसिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर प्रोटोकलमा हस्ताक्षर गरे ।

प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला भएको हो । सम्झौताअनुसार पाँच सय नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् । ती युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउने छन् ।

वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रूपमा लिइन्छ । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ । केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले कृषि तथा केयरगिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ । इजरायलमा केयरगिभरको सङ्ख्या बढी छ र नेपालीहरू पनि धेरैजसो केयरगिभरका रूपमै नै त्यहाँ जाने गरेको छन् ।

‘द्विपक्षीय सम्बन्धमा नयाँ आयाम’

कार्यक्रममा श्रममन्त्री गौरीशङ्कर चौधरीले प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताए । उनले दुई देशबीच कूटनीतिक सम्बन्धका साथै श्रम सम्बन्ध सौहार्द हुने विश्वास व्यक्त गरे । उनले केयरगिभर क्षेत्रमात्र नभई अन्य क्षेत्रमा पनि नेपाली युवालाई रोजगारीका अवसर प्रदान गर्न आग्रह गरे ।

विभागका महानिर्देशक दहालले दुई देशको सरकारी तहबाट नै श्रमिक आदानप्रदान गर्ने गरी गरिएको सम्झौता कार्यान्वयनका लागि विभागले अनलाइनमार्फत् आवेदन दिने प्रक्रियालाई पारदर्शीरूपमा अवलम्बन गरिने बताए । सम्झौता कार्यान्वयनका लागि विभागले आवश्यक अन्य तयारीहरु पनि सुरु गर्ने जानकारी दिँदै उनले सहजीकरणका लागि विभागमा डेडिकेटेड टोली खटाइने बताए ।

इजरायलका लागि नेपाली राजदूत डा। अन्जान शाक्यले आफू राजदूतका रूपमा इजरायल पुगेदेखि नै त्यहाँको श्रम बजार नेपालीका लागि खुला गर्न लागिपरेको र आज सफलता मिलेको बताए । विदेशी श्रमिकका लागि इजरायल आकर्षक गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै इजरायलमा सम्मानका साथ नेपालीले काम गर्न पाउने बताए । उनले पटकपटकको छलफलपछि इजरायलमा नेपालीलाई केयर गिभरका रूपमा रोजगारीमा लैजान सक्ने वातावरण बनेको जानकारी दिए ।

नेपालका लागि इजरायली राजदूत गोडेरले नेपाली युवायुवतीले इजरायली नागरिकसरह सेवासुविधा तथा पारिश्रमिक पाउने बताएका थिए । लामो समयदेखि रोकिएको नेपाली श्रमिक इजरायल जाने प्रक्रियाले निरन्तरता पाउन लागेको र कोभिड–१९ को महामारीका बीचमा पनि दुवै देशका सरकारी अधिकारीले लगातारको प्रयासबाट मात्रै प्रोटोकलमा हस्ताक्षर गर्ने अवस्थामा पुगिएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर