काठमाडौं । पश्चिमी अफ्रिकी मुलुक मालीमा विद्रोहीको आक्रमणमा ६ जना सैनिक मारिएका छन् । बुर्किना फासोको सीमा नजिकै भएको हमलामा अन्य केही घाइते भएको समाचारमा जनाइएको छ । तर सरकारी सेनाले भने विद्रोहीहरुतर्फ ३० जनाको मृत्यु भएको दावी गरेको छ । विद्रोहीविरुद्धको कारवाहीमा उनीहरुको साथबाट ठूलो मात्रामा बन्दोबस्तीका सामग्रीसमेत नियन्त्रणमा लिएको सेनाको दावी छ ।
सन् २०१२ देखि मालीमा राजनीतिक अस्थिरता सुरु भएसँगै विद्रोहीहरुले हिंसात्मक गतिविधि गर्न थालेका छन् । विभिन्न जातीय समूहहरुले सशस्त्र गतिविधि सञ्चालन गर्न थालेसँगै मालिका विभिन्न क्षेत्र विद्रोहीको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
सन् २०१९ सेप्टेम्बरमा पनि सोही विद्रोही समूहको आक्रमणमा परेर ५० जना सरकारी सेनाको मृत्यु भएको थियो । इस्लाम र मुसलमान समुदायको बसोबास रहेको सो क्षेत्रमा जातीय हिंसाका कारण मुलुकले विभिन्न समस्या भोग्दै आएको छ । एजेन्सी