झापा । नेपालमा प्रतिबन्धित भारतीय चिट्ठाको झापाका सीमावर्ती बजार क्षेत्रमा खुलेआम कारोबार हुने गरेको पाइएको छ । विहारमा समेत प्रतिबन्धित रहेको पश्चिम बङ्गालको चिट्ठा सीमावर्ती बजार क्षेत्रमा खुलेआम कारोबार हुन थालेपछि प्रहरीले त्यसतर्फ सक्रियता बढाएको छ । यसैक्रममा वडा प्रहरी कार्यालय भद्रपुरले भारतीय चिट्ठाको कारोबार गर्ने एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बङ्गाल डांगीजोत बस्ने २२ वर्षीय मोहम्मद समीर रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । कोरोनाले सीमा नाका बन्द रहेको अवस्थामा भारतीय युवक समीरले भद्रपुरमा बजार क्षेत्रमा खुलेआम चिट्ठा बिक्री गरिरहेको अवस्थामा उनलाई आइतबार बिहान पक्राउ गरिएको डिएसपी थापाले बताए ।
प्रहरीले उनको साथबाट ४ हजार मूल्य बराबरको १५ वटा ठेली चिट्ठा बरामद गरेको हो । पक्राउ परेका उनलाई वडा प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ । उनीमाथि चिट्ठा ऐन, २०२५ को दफा २ मा बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछिल्लो समयमा भारतीय चिट्ठाका कारण भद्रपुरका केही व्यक्तिको उठिबास नै लागि सकेको छ । चिट्ठाका लतमा फसेर उनीहरूको उठिबास लागेको स्थानीयहरू बताउँछन् । मुख्य गरी भद्रपुरको मोहपाल धर्मशाला, नगरपालिका कार्यालय, कामेश्वर कम्प्लेक्स, सब्जी लाइन, सुन पसल, बसपार्क, गिरी चोक, चन्द्रगढीका सुन लाइनमा भारतीय चिट्ठाको खरिद बिक्री हुने गरेको पाइएको छ । चिट्ठाका कारण दैनिक लाखौँ रकम नेपालबाट भारत जाने गरेको स्थानीयहरूको भनाई ।