Aamsanchar

आज विश्वभर यसरी मनाईन्छ क्यान्सर दिवस

Author Image
बिहिवार, माघ २२, २०७७

वर्षभरि क्यान्सरबाट मृत्यू हुने लाखौं मृतकहरुलाई हार्दिक संवेदनाका साथ आगामी वर्षहरुमा क्यान्सरवाट हुने मृत्यूलाई कम गर्नका लागि बिभिन्न जनचेतना कार्यक्रम र शिक्षाहरु प्रदान गर्दै आज विश्वभर विश्व क्यान्सर दिवस मनाँइदैछ ।

हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन, संसारभरिका सबैजना एैक्यवद्धरुपमा क्यान्सरसँग लडनकालागि चेतनास्वर भर्ने दिनका रुपमा चिनिन्छ ।
क्यान्सर विरुद्धको जागरण अनि क्यान्सरको उपचारका माध्यमबाट लाखौं मान्छेहरुलाई जोगाउने हेतूले फेब्रुअरि ४ मा क्यान्सर दिवस मनाईन्छ ।

हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरुकोलागि एउटा दूर्भाग्य सावित भएको छ, खर्च, पीडा र यससंगको लडाइको संघर्षले । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरु क्यान्सरसंग जुधिरहेका, लडिरहेका छन् । त्यसैले आज यी सबैलाई हौसला अनि मृत्यू भएकालाई श्रद्धाञ्जली दिने दिवस हो । आजको दिन फराकिलो क्रियाकलापहरुका माध्यमबाट क्यान्सरका विभिन्न स्वरुप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनि विश्वस्तरमै छलफल गरिन्छ ।

क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई अनकोंलोजी भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुदरोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरैहदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचारकालागि विकिरणहरु प्रयोग गरि क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतीलाई ‘केमोथेरापी’  भनिन्छ र केमो गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पिडितलाई पूर्नप्रयोगकालागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्वीर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारकालागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौं । विरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्यउपचार भन्ने वित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रुपमा हेर्छौ तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमैं पनि सहज रुपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न् । थोरै दुखः आफ्नो स्वास्थ्यकालागि गर्नै पर्यो नि ? कि कसो ?

अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि ह्यूमन प्यापीलोमाू भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।

कोरोनाले विश्वलाई थला पारेको सन् २०२० पछिको सन् २०२१ मा दोश्रो महिनामा परेको यस दिवसको नारा यसवर्ष अलिक खुल्ला र फराकिलो छ । यस वर्षको विश्व क्यान्सर दिवसको नारा चाँही आई एम एण्ड आई वील रहेको छ । यस्को अर्थ म सक्दछु र म गर्नेछु भन्ने लाग्दछ । क्यान्सर विरुद्धको यस अभियानमा सबैको एैक्यवद्धताका लागि हार्दिक आव्हान ।

सुर्तिजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारि खाने बानी गरेर अनि घामवाट बचेर क्यान्सरको जोखिम न्यूनिकरण गर्न सकिन्छ । दीर्घ अनि स्वास्थ्यवर्द्धक जीवनको शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)