Aamsanchar

ग्रिनलाइफको आईपीओ आजबाट सर्वसाधारणका लागि बिक्री खुला

Author Image
शुक्रवार, माघ २३, २०७७

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) आजबाट बिक्री खुला गरेको छ । ग्रिनलाइफ हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको छ ।

ग्रिनलाइफ हाइड्रोपावरले यसअघि आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको १८ लाख कित्ता मध्ये बिक्री नभएको १६ लाख ९६ हजार ४०० कित्ता सहित कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ७४ हजार ८२० कित्ता सेयर सामुहिक लगानीकोष र २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँ २० प्रतिशत अर्थात् ३६ लाख कित्ता आईपीओ निष्कासन अनुमति पाएको थियो । जसमध्ये १८ लाख कित्ता आयोजना प्रभावित स्थानीय र १८ लाख कित्ता सर्वसाधराणका लागि छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको सहित ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री सुरु गरेको हो ।

कम्पनीको आईपीओमा छिटोमा माघ २७ गतेसम्म र उक्त अवधिमा माग गरेअनुसार आवेदन नपरेमा ढीलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर–एनपी बी प्लस (आइएस)’ प्रदान गरेको छ । यस क्रेडिट रेटिङले निष्काशनकर्ता वित्तिय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँछ ।

कम्पनीले दोलखा जिल्लाको खानीखोला, हनापु खोला र नाप्के खोलाको पानीबाट ४० मेगावाट क्षमताको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । रन अफ रिभर आयोजनाको आयोजनाको कुल लागत ७ अर्ब ६५ करोड रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड १३ लाख ४७ हजार रहेको छ । यस्तै आयोजनाले २०७८ वैशाखबाटै विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ भने आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१० वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १७।८९ वर्ष रहेको छ ।

२०६९ वैशाख २८ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको कम्पनीको विद्युत उत्पादन बहाल रहने अवधि २१०३ वैशाख २७ गतेसम्म रहको छ । चालु आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ३७ लाख ४६ हजार सञ्चित नोक्सानमा रहने अनुमान गरेको कम्पनीले आगामी आर्थिक वर्ष २०७८/०८९ मा १२ करोड ८८ लाख ७६ हजार र आर्थिक वर्ष २०७९/०८० मा १२ करोड ८२ लाख ८४ हजार खुद नाफा आर्जन गर्ने अनुमान गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बि.ओ.के. क्पापिटल मार्केट रहेको छ ।

कति कित्ता आवेदन दिने ?
सर्वसाधारणलाई ग्रिनलाइफ हाइड्रोपावरमा ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार सबै आवेदकलाई पुगेसम्म १० कित्ता अन्यथा गोलाप्रथाबाट जतिलाई पुग्छ त्यतिलाई १० कित्ताको दरले बाँडफाड गर्नुपर्ने हुन्छ ।

१० कित्ताको दरले भाग लगाउँदा ग्रिनलाईफ हाइड्रोपावरको सेयर ३ लाख २५ हजार १६५ जनाले पाउने देखिन्छ । तर, अघिल्लो आईपीओलाई आधार मान्ने हो भने करिब १५ लाखको आवेदन पर्नसक्ने अनुमान गर्न सकिन्छ । यस आधारमा १० कित्ता आवेदन दिँदा पर्याप्त हुने देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर