Aamsanchar

नेपालस्थित विदेशी मिडियाका पत्रकारहरुसँग प्रचण्ड-माधव समूहका प्रमुख नेताहरुको अन्तरक्रिया

Author Image
मङ्गलवार, माघ २७, २०७७

काठमाडौ: प्रचण्ड-माधव समूहको नेकपाका प्रमुख नेताहरुले नेपालस्थित विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । मंगलबार राजधानीस्थित याक एण्ड यति होटलमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल सहित प्रमुख नेताहरुले पत्रकारहरुसँग भेट गरेका हुन् । यसअघि सम्पादक, सञ्चार उद्यमी लगायतसँग भेट गरेका नेकपाका नेताहरुले मंगलबार विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।

प्रचण्ड माधव समूहले बुधबारका लागि राजधानीमा विशाल आमसभाको तयारी समेत गरिरहेको छ । आमसभाको अघिल्लो बिहान अर्थात्, मंगलबार बिहान ९ बजे उक्त समूहले पत्रकारहरुसँग भेट गरेको हो । ‘यसअघि हामीले सम्पादक, सञ्चार उद्यमीलगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया गरिसकेका छौँ ।

सोही अन्तरक्रियाको श्रृंखलाको रुपमा मंगलबारको भेटघाट भएको हो,’ नेकपा सम्बद्ध पत्रकार तथा नेता विष्णु रिजालले  भने । नेता रिजालका अनुसार नेकपाले पछिल्लो अवस्थाबारे पत्रकारहरुसँग आफ्ना धारणा राखेको हो । प्रचण्ड निकट स्रोतका अनुसार अन्तरक्रियाको क्रममा प्रमुख नेताहरुले संसद पुनर्स्थापना नै उत्तम निकास भएकोमा जोड दिएका थिए ।

अन्तरक्रियाको क्रममा पत्रकारहरुले प्रधानमन्त्री केपी ओली समूहको २३ गतेको आमसभासँग जोडेर पनि प्रश्न गरेका थिए । नेकपाले आमसभालाई प्रतिष्पर्धाको रुपमा लिएको जस्ता जिज्ञासा अन्तरक्रियामा उठेका थिए । गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड-माधव समूह निरन्तर सडक आन्दोलनमा छ । उनीहरुले संसद पुनर्स्थापनाको माग गर्दैआएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)