Aamsanchar

हामि विकास बिरोधी होईनौं, हाम्रो उचित व्यवस्थापन गरियोस : बुधबारे बजार संघर्ष समिति

Author Image
मङ्गलवार, माघ २७, २०७७

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले अस्थायी रुपमा टहरा निर्माण गरी पसल सञ्चालन गर्दै आएका बुधबारे बजारका व्यवसायीलाई सो स्थान खाली गर्न भनेपछि व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । बिर्तामोड नगरपालिकाले २०७७ मंसिर २८ गते सूचना निकालेर टहरा हटाउन निर्देशन दिएको थियो ।

साना व्यवसायीहरुले आज मंगलबार देवी बुधबारे बजारमै पत्रकार सम्मेलन गरेर उनीहरुले आफूहरुलाई नगरपालिकाले हटाउन नमिल्ने जिकिर गरेका छन् । सो स्थानमा विगत २९ वर्षदेखि अस्थायी टहरा निर्माण गरेर व्यवसाय सञ्चालन हुँदै आएको छ ।

व्यवसायीहरुले आफूहरुको उचित व्यवस्थापन हुनुपर्ने माग राखेका छन् । साथै, बजारका सम्पूर्ण व्यवसायीलाई समान व्यवहार गर्न उनीहरुले नगरपालिकालाई आग्रह गरेका छन् । सो स्थानमा १६४ वटा पसल सञ्चालन हुँदै आएको छ । व्यवसायीहरुले संघर्ष समिति बनाएर माघ १६ गते नगरपालिकाको ध्यानाकर्षण गरिसकेका छन् ।
नगरपालिकाले छलफल नै नगरी सूचना निकालेर टहर हटाउन गरेको निर्णयले आफूहरुको रोजीरोटी गुम्ने संघर्ष समितिका संयोजक मोहम्मद अली आलमले बताए । उनले आफूहरुको टहर हटाएर व्यवसाय बन्द गर्ने हो भने झन्डै एक हजारजनाको दैनिकी नै संकटमा पर्ने भन्दै दुखेसो पोखे ।

सो स्थानमा स्थायी संरचना बनाएर नगरपालिकाले व्यवस्थित गरे आफूहरु राज्यको नियमअनुसार व्यवसाय गर्न तयार रहेको संघर्ष समितिका सदस्य दिपेन्द्र न्यौपानेले बताए । आफूहरु नगरपालिकाले गर्ने विकास निर्माणको विरोधमा नरहेको तर आफूहरुलाई न्यायोचित व्यवस्थापन गर्नुपर्ने संघर्ष समितिका सदस्य लक्ष्मी भट्टराईले बताए ।
यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड नगरपालिकाले जारी गरेको सूचनाबाट व्यवसायीहरुलाई कुनै विकल्प नदिई विस्थापित मात्र गर्ने देखिएको, कयौँको रोजीरोटी गुम्ने अवस्था आएको हुँदा उक्त क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरुलाई त्यहाँबाट विस्थापित गर्नुअघि वैकल्पिक व्यवस्था गरिदिनका लागि माग गरेको छ ।

साथै, उक्त स्थान कुन प्रयोजनका लागि खाली गराउन लागिएको हो त्यसको उद्देश्य समेत स्पष्ट नभएको सन्दर्भमा व्यवसायीहरुलाई अर्को वैकल्पिक व्यवस्था नहुञ्जेलसम्मका लागि साविककै ठाउँमा निर्वाध रुपमा व्यापार, व्यवसाय गर्ने वातावरण बनाइदिनुहुन समेत संघले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

संघर्षरत व्यवसायीहरले विर्तामोड नगरपालिका, वडा नम्बर ५को कार्यालय विर्तामोड उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ र कृषिथोक उपज बजार व्यवस्थापन समिति समक्ष ३ बुदे प्रस्थाव पेश गरेका छन् । पेश गरिएको पस्थाव १ मा उक्त स्थानमा कुन प्रयोजनका लागि ठाउँ खाली गराउने र पहिले व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई के कसरी व्यवस्थापन गर्ने । २ नंम्बर प्रथावमा यस क्षेत्रमा व्यपार व्यवसायी संचालन गरिरहेका व्यवसायीहरुलाई करको दायारामा सामेल गर्नका लागि माग र ३ नम्बरमा अव्यवस्थित ढल निकास फोहोर मैला व्यवस्थापन, विद्युत खानेपानीका लागि समन्वयन गरिदिन आग्रह गरिएको छ ।

यसैबीच, नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सो स्थानमा ५ नम्बर वडा कार्यालय र विपन्नवर्गका लागि साना सहरी अस्पताल निर्माण गर्ने नगरपालिकाको योजना रहेको बताएका छन् । उनले बिर्तामोड सहरमा दिनदिनै मानिसको चाप बढ्दै गएकाले बाँकी जग्गामा सवारी साधन पार्किङ स्थल बनाइने जनाए । सो स्थानमा नगरपालिकाको स्वमित्वमा एक बिघा जग्गा रहेको उनले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 560

प्रतिक्रिया (०)