Aamsanchar

ग्याल्पो ल्होसार र सांस्कृतिक महत्व

Author Image
शुक्रवार, माघ ३०, २०७७

Buddhist monk participate in a rally to mark Sonam Lhoshar New Year at TinKune Koteshwr Kathmandu on Friday, February 16, 2018.
Photo: Dinesh Gole/Nagarik/Republica

हिमाली क्षेत्र आसपासमा माटो खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्दै हिउँसँगै हुर्किएका शेर्पा लगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदाय आज ‘ग्याल्पो ल्होसार’ मनाउँदैछन् ।

ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ । अर्थात् यो नयाँ वर्ष २१४८ प्रवेश दिन पनि हो । यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । यो वर्ष ‘गोरु वर्ष’का रूपमा मनाउँदैछ ।

हुन त, यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन्, एउटा साझा उत्सर्गको साटासाट हो आज ।

देवकोटाको मुनामदनको कथादेखि सरुभक्तको थाङ्गलासम्म, अनि विदेशी चलचित्रहरूः क्याराभान, दुई वर्षअघि प्रदर्शनमा आएको अङ्ग्रेजी भाषामा नेपालमा छायाङ्कन गरिएको चलचित्र एभरेष्ट जस्ता विश्व प्रसिद्ध चलचित्रहरू हिमाली भू–भाग अनि जीवनशैलीका प्रतिरूप हुन् ।

संसारको शीरभाग अर्थात् हिमाल वरपर हिमशयलको देश नेपालमा आज प्रकृति अनि हिमाल लगायत समग्र मानवता अनि शान्तिको कामना गरिँदै रङ्गीविरङ्गी झण्डा अनिध्वजा पताकाहरू अनि तिनमा अंङ्कित शान्ति छर्ने मन्त्रहरू हिमालका तिनै चिसो हावाले दिने गतिका साथ फहराउनेछन् ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँछन् । शेर्पा समुदायले ल्होसार शुरु हुनु एकमहिना अघि आ–आफ्नो घर रङ्ग्याउने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्छन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकुु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरूले घर सजाउने गर्छन् ।

तीन प्रकारका ल्होसारमध्ये शेर्पा समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ । तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष एवं सोलुखुम्बु खुम्जुङका आङछिरिङ शेर्पाका अनुुसार, यो दिन बिहानै घरभित्र पूजाआजा हुन्छ । त्यसपछि आफन्त कहाँ जाने९आउने हुन्छ । शुद्ध रूपमा तयार पारिएको परिकार खाने गरिन्छ । आफन्तलाई पैसा, कोसेली दिने गरिन्छ । कोसेलीमा लुगाफाटा र विद्युतीय सामान हुन्छ । परिवारका सबभन्दा बरिष्ठ व्यक्तिको घरमा जाने चलन छ ।

आजको ल्होसारको सबैभन्दा महत्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाएको एकप्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो, खाप्से खान नभुल्नु होला नि । हिमाली हावापानीको कुशल आंकलन गरेर आजका दिन उम्रिने गरी गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ ।
यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीका रूपमा लिइन्छ । यस वर्षभरि हिमालको हावापानीले हाम्रा हिमाली दाजुभाई अनि दिदी बहिनीलाई साथ दिनेछन्, यी लोपूलहरूले सबैको कल्याण गरुन् ।

ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ ।

यो परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्छन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको हुन्छ ।

उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के प¥यो भनी सबैले खोलेर हेर्छन् । जसमा सेतो कपडाको टुक्रा प¥यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरू सफल हुने मान्यता शेर्पा समुदायमा छ ।

आँगन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरूमा भएका पुराना ध्वजाहरूलाई आज परिवर्तन गरिन्छ । हिमाली चीसो हावाले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरू हल्लाउँदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झण्डाहरूले संसारभरि शान्तिको एउटा अद्वितीय कामना अभिव्यक्त गर्छन् ।

यस्ता झण्डाहरूबारेमा केही थप जानकारी प्रस्तुत गरौं । लामो लठ्ठी या आडमा राखिएका एकनाशको तलदेखि माथिसम्मको एउटै झण्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरूमा स–साना चारकुने झुण्डाइएका झण्डाहरूलाई भने लगंता भनिन्छ, तिब्बतीयन भाषामा यसको अर्थ हवाई घोडा हो ।

एक किंवदन्ती अनुसार, भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरूबीच लडाइँ भइरहेको थियो । तर लडाईमा देवताहरू असुरसँग पराजित हुन्छन् । त्यही बेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन ‘भगवान इन्द्र’का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चेमु दिन्छन् । त्यही मन्त्रको प्रभावले देवताहरूले असुरहरूलाई पराजित गर्छन् । यही विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।

ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ । तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ ।

साथै यस अवसरमा मिठो मसिना खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपालसहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमा पनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक विदा दिएको छ ।

गज्जब अनि ध्वजाहरू जस्तै शान्त र रङ्गीन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, ग्याल्पो ल्होसारको शुभकामना ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 838

प्रतिक्रिया (०)

सम्बन्धित खबर