वैष्णव सम्प्रदायका एक महान धार पुष्टिमार्गका मार्गदर्शक र शुद्धाद्वैत दर्शनका स्थापक आचार्य बल्लभलाई युगले जन्मजन्मान्तर सम्झना गर्नेछ । श्रीकृष्ण भगवानका प्रभावशाली भक्त अनि कृष्ण दर्शनका पूर्नब्याख्या गरेका आचार्य बल्लभको जयन्ती आज विश्वभरिका सनातन सम्प्रदायले आज धुमधामसाथ मनाउँदैछन् ।
एक महान दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता आचार्य वल्लभलाई ‘साकार ब्रह्मवादैक स्थापकका स्वरुपमा पनि चिनिन्छ । बल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरुको रचना गर्नुभयो । जसमध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र आदिलाई उहाँको चर्चित रचनाहरुको रुपमा स्मरण गरिन्छ ।
त्यसबाहेक बल्लभले संस्कृत भाषामा भएका थुप्रै ग्रन्थहरुलाई सर्वसाधारणले बुझ्न सहज हुने गरी सरल भाषामा अनुवाद गर्नुभयो । आजको दिन यिनै महाप्रभु वल्लभाचार्यको जन्म जयन्ती हो ।
सन् १४७९ मा आचार्य बल्लभको जन्म बनारसमा भएको थियो । सानै उमेरमै आफ्नो सुपुत्रको प्रतिभा देखेर बल्लभको पिताले आठ वर्षको उमेरमा उनलाई शिक्षाको लागि आचार्य विष्णुसिट्टा कहाँ पठाए । तेह्र वर्षको उमेरमा श्री बल्लभले वेद–वेदांग आदि जस्ता सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गर्नुभइसकेको थियो ।
श्री बल्लभको उमेर बढ्दै गएसँगै उहाँको ज्ञानको प्रसिद्धि चारै दिशामा प्रसारित हुन थाले । पछि श्री बल्लभले शंकराचार्यको उपदेशहरुको खण्डन गर्दै ब्रम्हाले पनि यो जगतको सत्यता नबुझेको भनि बताउनुभयो । यसैकारण श्री वल्लभका दार्शनिक सोचलाई ‘शुद्धाद्वैत’ पनि भनियो । उहाँको दार्शनिक सोचहरुबाट अति प्रेरित हुँदै त्यसबेलाका विजयनगरका राजाले बल्लभलाई श्रीमद् आचार्यको उपाधिबाट विभूषित गरेका थिए । त्यसबेलादेखि नै बल्लभ महाप्रभु बल्लभाचार्यको रूपमा प्रतिष्ठित हुनुहुन्छ ।