काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि खर्च जुटाउन भन्दै रोकेको बैठकभत्ता, पारवाहनभत्ता सांसदहरुले लिएको पाइएको छ ।
कोरोना रोग नियन्त्रमा पहिलो पंक्तिमा रहेर काम गर्नेहरु बाहेकको सबै प्रकारका भत्ताहरु सरकारले बजेटमार्फत रोकेको थियो । तर, सांसदहरुले सरकारले रोकेको ६ महिनापछि भत्ता बापत ३५ लाख रुपैयाँ लिएका हुन् ।
संसद सचिवालयले दिएको जानकारी अनुसार गत माघमा १६१ जना प्रतिनिधिसभा सदस्यले बैठक भत्ता बापत ८ लाख ८७ हजार चार सय र पारवाहन भत्ता वापत्त ८ लाख ९८ हजार रुपैयाँ लिएका छन् ।
यस्तै, राष्ट्रिय सभाका ५६ जना सदस्यले पनि गत साउन देखि रोकिएको भत्ता लिएका छन् । राष्ट्रिय सभातर्फका ५६ जना सांसदले बैठकभत्ता ९ लाख ३६ हजार ७ सय र पारवहन भत्ता ७ लाख ६४ हजार रुपैयाँ लिएका छन् ।
‘कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका राष्ट्रसेवक बाहेक अरुलाई प्रदान हुने प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता, खाना तथा खाजा खर्च, जोखीम भत्ता लगायतका सबै प्रकारका अन्य भत्ता २०७७ साल साउन १ गतेदेखि खारेज गरेको छु’ चालु आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको छ ।