Aamsanchar

सुर्खेतमा बर्डफ्लु देखापर्यो, प्रयोगशाला अभाव

Author Image
मङ्गलवार, फागुन ११, २०७७

काठमाडौँ ।  कर्णालीमा पनि बर्डफ्लु (एच५एन८)  देखिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ । किसानले पालेका स्थानीय कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

‘उपत्यकामा बर्डफ्लु देखिएपछि जिल्लागत रूपमा निगरानी बढाएका छौं, सोही क्रममा कर्णाली प्रदेशको सुर्खेतमा पनि देखियो,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, ‘रोग भेटिएका क्षेत्रमा पशुपन्छीलाई नियन्त्रणमा लिएर थप निगरानी गरिरहेका छौं । संक्रमण क्षेबाट अन्य क्षेत्रमा पशुपन्छी ओसारपसार गर्दा प्रमाणपत्र अनिवार्य चाहिने निर्णय गरेका छौं ।’

बर्डफ्लु देखिएको क्षेत्रबाट २७९ कुखुरा, १०२ परेवा, २२ अन्डा र ३१ किलो दाना नष्ट गरी सुरक्षित रूपमा तह लगाइएको विभागले जनाएको छ । रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमणसमेत गरिसकिएको ढकालको दाबी छ । ‘पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय, वीरेन्द्रनगर नगरपालिकालगायत निकाय परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरी रोग नियन्त्रण गरिएको छ,’ उनले भने ।

बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकाय परिचालन गरिएको थियो । रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न केन्द्रीयस्तरबाट समेत पशु चिकित्सकको विज्ञ टोली सुर्खेत पठाइसकिएको ढकालले जानकारी दिए । यसअघि माघ १६ मा उपत्यकामा बर्डफ्लु देखिएको थियो । कान्तिपुरबाट

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 340

प्रतिक्रिया (०)

सम्बन्धित खबर