Aamsanchar

नेप्से बढो,कारोबार घटो

Author Image
मङ्गलवार, फागुन १८, २०७७

अघिल्लो दिन ८० अंकले घटेको नेप्से कारोबार सोमबार ४० अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ४० दशमलव ६४ अर्थात् १ दशमलव ६४ प्रतिशतले बढेर २ हजार ५ सय १५ बिन्दुमा पुगेको हो ।

लगातार सेयर घट्नुलाई लगानीकर्ताले बजार करेक्सनपछिको नतिजा रहेको बताएका छन् । अघिल्लो साता बजार करेक्सनका रूपमा व्याख्या गर्दै सोमबारदेखि बजार बढ्न सक्ने तर्क गर्दै आएका थिए । अपेक्षाअनुरूप नै बजार बढेको विश्लेषकहरू बताउँछन् ।

बजार हल्लाले अघिल्लो साता केही प्रभावित पार्न खोजे पनि लगानीकर्ता विचलित नभएपछि बजार घट्न ब्रेक लागेको इभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । सोमबार बजार बढ्नुमा लगानीकर्ता बजार बढ्नेमा विश्वस्त रहेको र करेक्सनमा जाँदा पनि लगानीकर्ताले धैर्य गरेको परिणाम रहेको रौनियारको भनाइ छ ।

सोमबार ‘क’ वर्गका कम्पनीहरूको सेन्सटिभ इन्डेक्स ६ दशमलव ४७ अंकले बढेर ४ सय ५३ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स २ दशमलव ८४ अंकले बढेर १ सय ७३ बिन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक बढेको भए पनि कारोबार रकम भने घटेको छ ।

२ सय ९ किसिमको धितोपत्र तथा ऋणपत्र गरी १ करोड १८ लाख ३८ हजार इकाइ किनबेच हुँदा ५ अर्ब ६९ करोड २३ लाख मूल्यबराबरको कारोबार भएको छ । सोमबार पनि होटेल समूहअन्तर्गतको चन्द्रागिरि हिल्सको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचकहरू बढेका छन् ।

जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ३२ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन होटेल तथा पर्यटन, वित्त र जीवन बिमा समूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत्, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र लगानी समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को कारोबार भएको छ । यस दिन ४४ करोड ४८ लाख मूल्यबराबरको कारोबार भएको हो । निफ्राको ८ लाख ६३ इकाइ किनबेच भएको छ । नयाँ पत्रिकाबाट 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर