Aamsanchar

सर्वोच्चले पुर्‍याइदियो नेकपालाई ३ वर्षपछाडिको अवस्थामा

Author Image
सोमवार, फागुन २४, २०७७

काठमाडौँ । एकैखाले नाम भएका दुई दलबीचको विवाद निरूपणका क्रममा दल दर्ता प्रक्रिया नै निस्तेज हुने गरी सर्वोच्च अदालतले विवादास्पद फैसला गरेको छ । सर्वोच्चले दुई पार्टीको नाम जुधेकामा आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरणअघिका एमाले र माओवादी केन्द्रलाई ब्युँताउने आदेश दिएको छ ।

निर्वाचन आयोगमा दर्ता हुने दलहरूबीच नाम जुधे अर्को नाम दिन सक्ने आयोगको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दै सर्वोच्च अदालतले दल दर्ताको निर्णय नै बदर गरेको हो । यसले संविधानको प्रस्तावना र मौलिक हकका रूपमा रहेको राजनीतिक दलसम्बन्धी हकमाथि नै प्रहार भएको कानुनविद्हरू बताउँछन् । नेकपा विवाद निरूपणको यो फैसला १३ दिनअघि सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलासँग पनि बाझिएको छ । निवेदनमा मागदाबी नै नगरेको विषयमा आदेश दिएको र राजनीतिक विषयवस्तुमा प्रवेश गरेको भन्दै फैसलाको आलोचना भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरणको निर्णय भएको थियो । त्यही निर्णयका आधारमा निर्वाचन आयोगमा जेठ २३ गते एकीकृत दलका रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भएको थियो । दर्ता भएपछि आफ्नो नामसँग जुधेको भनी ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दिएको उजुरीलाई निर्वाचन आयोगले खारेज गरी आफ्नो पुरानो निर्णय कायम राखेको थियो । सोही निर्णयविरुद्धको मुद्दामा सर्वोच्च अदालतले आइतबार विवादास्पद फैसला गरेको हो ।

नेपालको संविधानको प्रस्तावनामै ‘प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’ उल्लेख छ । मौलिक हकमध्ये स्वतन्त्रताको हकमा ‘राजनीतिक दल खोल्ने स्वतन्त्रता’ लाई समेटिएको छ । दुई दल एकीकरण भएर बनेको दललाई नयाँ दल दर्ता प्रक्रियासँग तुलना गर्ने हो भने सर्वोच्चको फैसलाले २०७५ जेठ २३ गते निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई खारेज गरिदिएको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार, निर्वाचन आयोगमा दर्ता भएको दल खारेज हुन केही सर्त पूरा गर्नुपर्छ । ऐनको दफा १२ अनुसार स्वयं दलले निवेदन दिए दर्ता खारेज हुन्छ । दलले प्रचलित कानुनविपरीत काम गरे निर्वाचन आयोगले प्रक्रिया पुर्‍याएर दर्ता खारेज गर्न सक्छ । सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर संविधानले दिएको स्वतन्त्रताको हक हनन र निर्वाचन आयोगको क्षेत्राधिकारमा प्रवेश गरेको कानुनविद्हरू बताउँछन् । ‘निर्वाचन आयोग ऐनको राजनीतिक दल एकीकरण हुने व्यवस्थालाई प्रतिकूल असर पार्ने गरी अपरिपक्व फैसला आयो,’ अधिवक्ता टीकाराम भट्टराईले कान्तिपुरसित भने, ‘यो फैसलाबाट राजनीतिक दल खोल्न पाउने र जनमत प्राप्त गर्न पाउने संवैधानिक व्यवस्थामा कुठाराघात भयो ।’

कान्तिपुरमा समाचार छ ।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर