Aamsanchar

एक महिलाले ४ सन्तानसहित कर्णाली नदीमा हामफालिन् ,२ छोरीको शव फेला

Author Image
मङ्गलवार, फागुन २५, २०७७

सुर्खेत – दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।

उनका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ । आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए । स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ । बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर