एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यस सिजनको यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट नै बाहिरिएको छ । मंगलबार भएको दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय गर्न सकेन ।
मंगलबार अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो । त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो । समग्रमा ४-४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि अघि बढेको हो । खेलको आधा भन्दा बढी समय १० खेलाडीमा समेटिएको पोर्टोले ऐतिहासिक जित निकाल्न सफल रह्यो ।
खेलको १९ मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको चौथो मिनेटमा रोनाल्डोको पासमा फेडेरिको किएजाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि पोर्टो १० खेलाडीमा समेटिएको थियो ।
दुई मिनेटको अन्तरमा मेहेदि टेरेमीले २ पहेंलो कार्ड पाएपछि युभेन्टसलाई फाइदा पुगेको थियो । ६३ मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै समग्रमा खेल बराबरीमा ल्याए । उनले जुआन क्वाडराडोको पासमा गोल गरे । निर्धारित ९० मिनेटमा गोल थप्न नसक्दा खेल अतिरिक्त समयमा लम्बियो । अतिरिक्त समयमको १ सय १५ मिनेटमा सर्जियो अलिभिएराले दोस्रो गोल गरे । उनले झण्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार सिधै गोल भएको थियो । गोलरक्षक वजचिएक सेचेज्नीले हातले छोएपनि बल गोललाइन पार हुनबाट रोक्न सकेनन् ।
त्यसको २ मिनेटपछि नै युभेन्टसले गोल फर्कायो । बर्नार्डेस्कीको क्रसमा एड्रिएन राबिअटले हेडरमा गोल फर्काए । त्यसपछि थप आक्रमक देखिएको युभेले गोल फर्काउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो ।