Aamsanchar

सरकारको स्वामित्वमा रहेको डिडिसीले दूधको भुक्तानी ३ महिना देखि रोक्दा प्रदेश १ का कृषक मारमा

Author Image
शनिवार, फागुन २९, २०७७

इलाम-नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डिडिसी)ले किसानबाट खरिद गरेको दूधको भुक्तानी तीन महिना देखि रोक्दा प्रदेश १ का हजारौ दुग्ध उत्पादक कृषक समस्यामा परेका छन्। डिडिसिको विराटनगर आयोजनमा मात्रै अहिले पनि दैनिक ३० हजार लिटरभन्दा धेरै दूध इलाम, धनकुटा र तेह्रथुम, झापा लगायतका जिल्लाबाट जाने गर्दछ। यो करिब १४ लाख १० हजारको दूध हो। डिडिसिको विराटनगर आयोजनाका प्रमुख गणेश यादवले विराटनगर आयोजनाले मात्रै ८ करोड रुपयाँ किसानको दूधको भुक्तानी दिन बाँकी रहेको बतए।

आयोजनाले मंसिर महिनापछि किसानको दूधको भुक्तानी दिन नसकेको सूर्योदय नगरपालिका ११ को भवानी दुग्ध उत्पादन सहकारी संस्थाको व्यवस्थापक दुर्गा खतिवडाले बताए। प्रत्येक १५ दिनमा दूधको भुत्तानी गर्ने डिडिसीले समयमा भुक्तानी गर्न छोडेपछि ग्रामीण कृषकहरु प्रत्यक्ष प्रभावित भएको खतिवडाले बताए।

सूर्योदयकै तीनघर दुग्ध उत्पादक सहकारी सस्थाका व्यवस्थापक कुमार रेग्मीले डिडिसीकै कारण किसानहरु निजी डेरीमा दूध बेच्ने अवस्थामा पुगेको बताए। उनले भने, ‘सहकारीहरुले बचत मासेर किसानलाई दूधको रकम भुक्तानी गर्ने अवस्था भएको छ।’

दूध पाउडर र घिउ बिक्री नभएकाले किसानको रकम भुक्तानी गर्न नसकेको प्रमुख यादवले बताए। उनका अनुसार विराटनगरको आयोजना कार्यालयमा मात्रै १ हजार चार सय मेटिकटन दुग्ध पाउडर र ८ सय मेटिकटन घिउ स्टकमा रहेको छ। यो एक अर्बभन्दा माथिको सामान हो। यादवले भने, ‘गर्मी बढेपछि दूधको माग बढ्ने भएकाले अब केही समयमै संस्थाले किसानको दूधको मुल्य भुक्तानी गर्ने अवस्थामा पुग्ने छ।’

उनका अनुसार कर्तिकदेखि माघसम्म दूध उत्पादन उच्च हुने गर्दछ। चैत्रदेखि भदौसम्म दूधको माग निक्कै उच्च हुने भएकाले अब मौदात घटेसंगै संस्थानले किसानको दूधको रकम भुक्तानी सुरु गर्ने छ।

दूध विकास सस्थानका महाप्रबन्धक रुद्र पौड्यालले समेत केहि दिनमा किसानको रकम भुक्तानी गर्ने प्रयास जारी रहेको बताएको दुग्ध सहकारी जिल्ला संघ इलामको अध्यक्ष हेम कट्टेलले बताए। कट्टेलले भने, ‘महाप्रवन्धकले केही समय माग्नु भएको छ, केही समय पर्खेर भएन भने सडकमा आउने अवस्था बन्दै छ।’ इलामबाट दैनिक २० हजार लिटरको हाराहारीमा दूध विराटनगर जाने गरेको डिडिसिले जनाएको छ। किसानले अहिले ३ प्रतिशत फ्याट र ८ प्रतिशत ल्याक्टो भएको दूधको प्रतिलिटर मुल्य ४१ रुपयाँ ३२ पैसामा डिडिसिलाई दूध बिक्री गर्दै आएका छन्।

डिडिसीले इलाममा आठवटा चिस्यान केन्द्र, धनकुटाको हिलेमा १ र तेह्रथुमको चित्रेमा १ चिस्यानकेन्द्र मार्फत दैनिक ३० हजार लिटरको हाराहारीमा दूध संकलन गर्दै आएको छ।

इलाममा निजी डेरीहरुले डिडिसिको एकाधिकार तोड्ने प्रयास गरे पनि सरकारी स्वामित्वमा रहेको डिडिसिलाई नै दूध बिक्री गर्दै आएका छन्। संघका अध्यक्ष कट्टेलले डिडिसिको कमजोरीको कारण निजी क्षेत्रको सरणमा किसान जाने अवस्था निर्माण हुन थालेको छ। अहिले इलामबाट निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दूध खरिद गर्दै आएका थिए। निजी डेरीमा मात्रै एक हजारभन्दा बढी कृषकले दूध बिक्री गर्दै आएको राष्ट्रिय कृषक समूह महासंघ इलामका सचिव खड्काले बताए। इलामका १० वटै स्थानीय तहमा गाईपालक कृषकहरुको सघन उपस्थिति रहेका उनले बताए।

इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध संकलन गर्दै आएका छन्। स्थानीय बजार क्षेत्रमा दैनिक ५ हजार लिटर दूध बिक्री हुने गर्दछ। छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेका थिए। ललिपप, बम्बैसन जस्ता मिठ्ठाई बनाउने उद्योगले ३ हजार लिटर र भारतका बजारमा ३ हजार लिटर दूध बिक्री हुने गरेको लामो समय इलाममा बसेर काम गरेका पशु चिकित्सक डा। पशुपति खतिवडा बताउँछन्। इलाममा १८ चिज कारखाना, १५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दूध मिठ्ठाइ बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ।

इलाममा वार्षिक एकलाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ। होलिस्टिन, जर्सी गरीइलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर